एनआरएनए रूपान्तरणको नीतिगत संश्लेषणबारे विरोध किन ?

एनआरएनए रूपान्तरणको नीतिगत संश्लेषणबारे विरोध किन ?


अब नेपालीलाई नेपाल फर्काउने भन्दा नेपालसँग जोड्ने नीतिले नै दीर्घकालिक रूपमा अर्थ राख्छ कि भन्ने बहस उठाउनुपर्ने देखिन्छ


■ डिल्ली अम्माई, बेल्जियम

कुनै पनि क्रान्ति शुरुमा योजना भविष्यको लक्ष्य निखार्न हुरी बनेर आउँछ । मान्छेहरू अलमलमा पर्छन्, कसैले झिल्का देख्छन्, कोही आफ्नो आकाङ्क्षा गुम्ने भयले काँप्छन् र चेत छोडेर बर्बराउन थाल्दछन् । रूपान्तरणको यो योजना अहिले नेपाली डायस्पोराको निराश सन्नाटा चिर्दै आइरहेको देखिन्छ । वर्तमान नेतृत्वले यो छलछामको लागि ल्याइएको हो कि भनेर केहीले आशङ्का गरेका पनि छन् । यसमा नेतृत्वले निर्भयतापूर्वक समुदायलाई उत्तर दिइसकेको छ र बाँकी आफ्नो कार्य क्षमतामार्फत अझै दिनुपर्ने पनि हुन सक्छ ।

यी एजेन्डा यदि छलछामकै लागि ल्याइएको हो भने इतिहासले कुमार पन्तको वर्तमान नेतृत्वलाई कहिल्यै माफी दिने छैन । तर सुन्दर परिणामको लागि उहाँहरूले यी कार्यक्रम ल्याउनु भएको हो भने आरोप लगाउनेहरू नै यस अभियानको ज्वालामुखीमा खसेर आफ्नो दुर्नियति भोग्न बाध्य हुने छन् ।

बहसको शुरुवात सुन्दर छ । कसैलाई झोसपोल गरिएको छैन । यो अभियानको क्रममा आएको प्रक्रियागत दोष हो भनेर आत्मालोचना गरिएको छ । नेतृत्व स्वयमले शुरुमा आफ्नो शरीरलाई जलाएर शुरु गरेको आत्मालोचनाको गुञ्जन अहिले चलिरहेका सबै सभाहरूमा सुनिइरहेको छ । जसलाई आरोपहरूको पुलिन्दाले अहिल्यै पुरिहाल्नु पर्ने आवश्यक देखिन्न । नियतहरूको परिणामले नजाँची अँध्यारोमा तेजाब खन्याउँदा आफ्नो हात जल्ने खतरा बढी हुन्छ ।

हिजोका नेतृत्वदायी गलत प्रवृत्तिमाथि वर्तमान नेतृत्वले निर्मम प्रहार गरिरहँदा यो अभियानबारे चासो नदिनेहरू पनि चनाखो हुँदै आशावादी बनिरहेको आभास हुँदै छ । नेतृत्व तहबाटै रूपान्तरण गर्ने प्रण गरिएको हुनाले वा हिजोका विकृतिबारे सामुहिक उत्तरदायित्वपुर्वक स्वीकारिएको हुनाले र रूपान्तरणलाई योजनाबद्ध रूपमा संगठनले नीतिगत साधन बनाउन संकल्प गरिएको हुनाले यो नेतृत्वले संस्थागत आमुल परिवर्तनको एजेण्डालाई यथेष्ट समय पाउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । यी एजेन्डा ल्याउन पनि एजेन्डाप्रति अपनत्व अनुभूति गर्न सक्ने इमान्दार नेतृत्वको जरुरत पर्छ र त्यसको जाँच हुन पाउनुपूर्व नै विभिन्न बहानामा अभियानको एक मुर्त योजनालाई मास्न खोज्नु कदाचित अभियानको भ्रुणहत्या हुने छ ।

एनआरएनए रूपान्तरणका सबै नीतिगत कुराहरूलाई विधानमार्फत ब्यवस्थित गर्दै कार्यान्वयनमा लैजाने भनेको बैठक, सम्मेलन र अधिवेशनले हो । तात्कालिक कामको लागि बैठकले ठोस कार्यक्रमहरू बनाउँछ र अधिवेशनको लागि ठोस सुझावहरू दिन्छ । त्यसैले संस्थागत रूपान्तरणले गति लिन पनि केही जटिल प्रक्रियाहरू पार गरेर जानु पर्दछ । त्यसको लागि विशेष अधिवेशनको आह्वान गरिएको छ तर अर्को पक्ष वा भनौँ अहिलेको नेतृत्वको प्रतिद्वन्द्वी पक्षले आफ्ना मुर्त एजेण्डाबिना रूपान्तरणको मिसनलाई असर गर्ने गरेर विशेष अधिवेशन रोक्नको लागि मुद्धा–मामिलामा लागेको छ । हाम्रो कामना छ, त्यो नियतवश रूपान्तरणको विरुद्ध नहोस् । भ्रुण हत्याको अपजस लाग्नुपूर्व मित्रहरूबीच एक सहमतिको पुनः प्रयास होस् ।

मित्रहरू, नीति निर्माणलाई वैधानिक रूपमा कार्यान्वयन गर्नुअगाडि अधिवेशनमार्फत नीतिहरूलाई कानुन बनाइनु बाध्यता हो । सर्वसहमति वा बहुमतले महाधिवेशनको बन्द शत्रमा नीतिहरू पास भएपछि मात्रै प्रस्तावित नीतिहरू संगठन वा अभियानका कानुन बन्दछन् ।

नीति बनेपछि ती नीतिहरूलाई ब्यवस्थित रूपमा लागु गर्न योजनाको निर्माण हुन्छ । योजना विधानसँग बाझिने गरेर ल्याउन सकिँदैन । तसर्थ, नीति बनाउँदा रूपान्तरण (विधान, योजना, कार्यक्रम, पद्धति र स्पष्ट लक्ष)लाई केन्द्रमा राखेर बनाइन्छ । अहिले एनआरएनएले तात्कालिक रूपमा नीति बनाइसकेका र विधानलाई नै परिमार्जन गर्नुपर्ने रणनीतिहरूको लागि तयार पार्दै गरिएका प्रस्तावहरूबारे एकैचोटि बहस छेडेको छ । संस्थागत रूपान्तरणको लागि के यो गर्नु बाध्यकारी छैन र मित्रहरू ?

एनआरएनएमा एक पक्षले विशेष अधिवेशनको विरोध गरेको छ । विरोधको कारण कसैलाई थाहा छैन । कारण अज्ञात छ । विरोध गर्ने साथीहरूले सबै एनआरएनहरूलाई आश्वस्त पार्नुपर्यो कि अब यो बहसबाट प्रस्तावहरूको छनौट गर्ने र त्यसलाई नीतिगत बाटोबाट हिँडाउने तपाईंको वैकल्पिक विधि के हो ? मित्रहरू कृपया विरोधको औचित्य पुष्टि गर्दिनुहोला । अन्यथा यो प्रश्न इतिहासले बारम्बार तपाईंहरूलाई सोधिरहने छ ।

अर्को कुरा, हिजोसम्म संस्थामा रहेका भद्दा कार्यप्रणालीहरूलाई परिवर्तन गर्न यो बहस अनिवार्य थियो । त्यतिबेला तपाईंहरू बोल्न अलिक दब्नु भयो । बालुवाटार जग्गा काण्ड र लाप्राक बस्ती निर्माण छनौट पछि एनआरएनए अभियान विकराल समस्याहरूले घेरिएको थियो । यी दुवै निर्णयमा नेतृत्वको चरम अपरिपक्व निर्णयकै कारण यो सँस्था अहिलेसम्म ऋणको पहाडले थिचिएको जर्जर अवस्थामा छ । अक्षम्य गल्ती गरेर पनि तात्कालिक नेतृत्वले अझै एनआरएनहरूसँग माफी नमाग्नु आफैमा दुःखद हो । त्यो बेला मिडियाको आवाजलाई पुर्वाग्रहीको आरोप लगाइयो । साथीहरूको आवाज सुनिएन ।

तर विगतमा भएका यावत दुःखदायी गल्तीहरूको बाबजुद अहिलेको टिमले स्मार्ट एनआरएनए बनाउँदै मुलुकको समृद्धिमा समेत योगदान गर्ने संकल्प गर्नु आफैमा राम्रो हुँदाहुँदै पनि यसको लागि स्पष्ट योजनाको प्रारूप खोइ भन्दै साथीहरूले थप स्पष्ट हुन चाहेको अवस्था समेतलाई बुझिदिनु हुने अपेक्षा आफ्नो स्थानमा जायज होला । तर विशेष अधिवेशनको विरोध गरिरहेका मित्रहरूले हिजो भएका गल्तीहरू चाहे बालुवाटार काण्डमा फस्ने पÞmसाउनेका विरुद्ध होस् वा खोलाखालिको किनबेच गर्दै हिँड्ने तरल अनुचरहरू विरुद्ध होस् वा मानव तस्करीको लागि देशविदेश चाहार्दै विभिन्न तस्कर मञ्च गठन गरिएका कुरा हुन्– विरोधको कुनै आवाज आएन । माल्टामा तस्करहरूले बजाएको मादल संसारभर सुनियो तर साथीहरूले तस्कर बचाउन दिनरात नभनी पसिना बगाउनु भयो । अरुलाई बेइमान भन्नुपूर्व आफू इमान्दार भएको प्रमाणित गर्नुहोस् मित्रहरू । पैसा कम भएर चुनाव हार्नुपर्ने कारण बोकेर हिँड्ने मित्रहरूमा इमान्दारिताको हावा न फुस्कियोस्, किनकि भएर मात्र यो युगमा ठुलो हुन सकिँदैन, पत्याइदिने मान्छे पनि आवश्यक हुन्छ ।

त्यसैले अहिले तपाईंहरूले उठाई रहेको आवाज इमान्दार हो कि हैन कसरी मापन गर्ने होला विश्वासिलो आधार पाए हामी सबै अभागी एनआरएनहरू आभारी हुने थियौँ ? के तपाईंहरूको विवेकले अहिलेको युगसुहाउँदो रूपान्तरणको नर्सरी प्लानबारे कहिँकतै बहसको माग गरेको छ ? यदि छ भने जानकारी गराइदिनु होला ?

रूपान्तरणको प्रारम्भिक कार्ययोजनामा दुवै पक्षले बरु यसरी बहसको थालनी गर्दै विशेष अधिवेशनको तयारी गरे कसो होला ?

घर फोहर भयो भने अर्को घर बनाउनुभन्दा फोहरको सफाई गर्नु लागतको हिसाबले पनि सस्तो पर्छ भने नीतिगत रूपमा पनि सफाइ गर्नुको विकल्प अर्को हुन सक्दैन । यसर्थ अबका मूलभुत मुद्धाको कार्यान्वयनको लागि विधानको रूपान्तरण आवश्यक हो कि हैन ? सहमतिको खोजी गरौँ ।

रूपान्तरणको लागि केन्द्रले केही विधिहरू प्रस्तावको रूपमा र केही हिजोकै विधानले ब्यबस्था गरेबमोजिम गर्ने सोच बनाएको बुझिन्छ । वर्तमान कार्यसमितिले विगतका गलत आयामहरूको निर्मम समीक्षा गर्ने चेष्टा गर्नु राम्रो हो । जसमा संघभित्र हुने आर्थिक अनियमितताका प्वालहरू बन्द गर्ने, आर्थिक नीतिहरू पारदर्शी बनाउँदै तलदेखि माथिसम्म लेखापरीक्षण गराउने र आर्थिक अनुशासनलाई सबैतिर लागु पालना गराउने कुराहरू छन् । तर अर्को पक्षसँग किन असहमति भएको हो लिखित रूपमा राय माग्न केले रोकिरहेको छ ? बुझ्न गाह्रो भैरहेको छ । यदि विशेष अधिवेशन आवश्यक छैन भने केन्द्रले सम्बन्धित पक्षसँग कारण लिखित रूपमा मागेर छलफल चलाउन सक्छ । बिनाकारण विधिगत प्रक्रिया रोक्न खोज्नु अपराध हो ।

सबै एनआरएनहरू बिनापूर्वाग्रह विगतको समीक्षामा निर्मम बन्न सक्नुहोस् किनकि त्यो समीक्षाले नै तपाईंको आगामी कोर्सलाई सरल, सुगम र भविष्य प्रति उत्तरदायी बनाउने छ । भनिन्छ विगतको अनुभव, वर्तमानको विश्लेषण नै आगामी दिनका पाठहरू हुन् । विगतका तिनै विकृति, विसंगति र बेथितिले नै रूपान्तरणको सुरुवात गर्दछ । ब्यक्तिगत रूपमा पनि तिनै कुराहरू लागु हुन्छन् भने सँस्थागत रूपमा पनि यिनै कुरा सत्य हुन् ।

अब संस्थागत रूपान्तरणमा एउटा क्रान्ति आवश्यक छ । क्रान्ति रूपान्तरणको साधन हो भने नेतृत्व कौशलता साध्य । तीमध्ये कुनै एकबिना अर्को बाँच्न सक्दैन । संस्थामा हुर्किंदै गरेका अराजकता, अनुशासन हीनता, आर्थिक अपारदर्शिता र बेथितिहरूको विरुद्ध सर्वप्रथम नीतिहरूलाई ब्यवस्थित गर्नु आवश्यक हुन्छ । त्यसपछि संस्थागत लक्ष्यहरू निर्धारण गर्दै सो अनुकुल विधानको रूपान्तरण अर्को आवश्यक शर्त हो । तर असहमत पक्षको योजना र वैकल्पिक राय किन सार्वजनिक गरिएन ?

ब्याड तयार भएपछि निर्धारित लक्ष्यको लागि बिज रोप्न सकिन्छ । जीवन र जगतको यो नै लक्ष्यप्राप्तिको उत्तम तरिका हो । विगतमा यही बाटो बिर्सेर संस्थाको महत्वपूर्ण कार्यभार लर्बराएको साँचो हो । कसैका सकारात्मक सुझावहरूलाई अझै पनि उपेक्षा गर्छौं र असफलतापछि निराश बन्छौँ भने भविष्यले पुनः समय माग्ने छुट नदिन पनि सक्छ । विगतमा करिव–करिव त्यही भयो । त्यो बेलाको नेतृत्वले यिनै लक्ष्यप्राप्तिका महत्वपूर्ण कुरालाई पन्छाउँदै गएको र संगठनलाई यथास्थितिबाट माथि उठाउन नसकेको आरोप लागेको थियो । दलाल, कामचोर, नोकरशाह र सुदखोरहरूको चक्रब्युहबाट संगठन मुक्त हुन नसकेको कुरा त केन्द्रिय समितिले स्विकार गरिसकेको छ ।

प्रविधिको पूर्ण उपयोग गर्दै प्रकृतिमैत्री कारोबारबारेको बहसमा किन डराउने ?

स्वास्थ्यविज्ञ, समाजविज्ञ र कृषिलगायत क्षेत्रका विज्ञहरूको ज्ञानलाई निश्चित परियोजनामार्फत पुँजीकृति गर्नु अति आवश्यक छ । अबको व्यापारयुद्धको चुरो प्रश्न सूचना, प्रविधि र ज्ञानमाथि कसले कसलाई उछिन्ने भन्ने रहेको छ  । विश्व अर्थतन्त्र मूल रूपले वस्तु आधारितबाट ज्ञान आधारितमा फेरिएको छ  । अतः यो कुरा बहुउद्देश्यसहित खोलिएका अन्तराष्ट्रिय सामाजिक संघ–संगठनहरूको हकमा पनि महत्वपुर्ण हुने छ भनेर निर्वाचनलगत्तै एनआरएनले ज्ञान तथा प्रविधि सम्मेलनलाई महत्व दिने निष्कर्षसहित छलफलहरू भैरहेका छन् ।

‘एनआरएनएले अब संसारभर छरिएर रहेका आइटी विज्ञहरूलाई विशेष महत्वका साथ गोलबन्द गर्नुपर्छ । अबको संगठित पुँजी आइटीहरूले निर्माण गर्ने डाटाबेस एप्स, कृतिम बुद्धिमत्ता र सफ्टवेयर निर्मित सामुहिक व्यापारिक विन्डोज स्टोर हुन । अबको सम्भावित लगानीको लागि महत्वपुर्ण नेपाली सफ्टवेयर संजाल पनि हो । यसलाई पुँजीकृत गर्ने हो भने एनआरएनए संसारको सबैभन्दा धेरै कृतिम बुद्धि निर्माण गर्न सक्ने आधुनिक डाटा समूहहरूको संगठित शक्ति बन्ने सम्भावनासमेत रहने छ ।’ अबको पुँजीगत क्रान्ति प्रविधिसँग सम्बन्धित नै हुने छ । त्यसैले अहिले उठिरहेको प्रविधिगत रूपान्तरणको नितिगत संस्लेषणबारे विरोध किन ?

त्यस्तै, सोधको क्षेत्रलाई पनि डायस्पोराको नेपाली संगठन तथा नेपाली कुटनैतिक निकायले समेट्न जरुरी भएको छ । त्यस विषयमा विज्ञ सम्मेलनले कुनै न कुनै कोणबाट प्रशस्त इशारा गरेको देखिन्छ । यो प्रयास नेपालको भावी योजनाको कुनै छेउमा समेटिनु र डायस्पोराको नेपाली विज्ञ धनलाई योजनासहित चलायमान बनाउने नीति ल्याउनु जरुरी छ । टिमको यो प्रयासलाई कसले कसरी बुझेका छन्, त्यो त थाहा भएन तर यो महत्वपूर्ण प्रयासको थालनी हो भन्ने धेरैले महसुस गरेका छन् भन्ने लाग्छ । आखिर कसैको इमान्दारिताको मापन व्याबहारले मापन गर्नुपूर्व रोक्न खोजिनुलाई एनआरएनले कसरी बुझ्ने ? उत्तर पाउनु पर्छ ।

एनआरएनले नेपालमा वातावरण चेतना, मानवअधिकार र साँस्कृतिक भेदभावको प्रश्नबारे सोच्नुपर्ने बेला हो कि ?

हाम्रा आफ्ना परिवार, नातासम्बन्धित र साथीभाइहरू समेत नेपालमा रहेको अवस्थामा डायस्पोराका नेपाली र नेपालमा बस्ने नेपालीबीच चेतनास्तरको सन्तुलन पनि बनाइ राख्नुपर्छ । नेपालमा वातावरण चेतना, मानवअधिकार र साँस्कृतिक भेदभावको प्रश्नसँगै अन्य मानवताविरुद्धका अपराध हुन् वा सामाजिक असमानताका धारणाहरूको रूपान्तरण तथा सुधारको लागि समेत यो संस्थाले योगदान दिने अवस्था रहन्छ । यस्ता चेतनागत कुराहरूलाई एनआरएनएले आफ्नो दायराभित्र समेट्ने नीतिबारे कतै कतै बहस चलेको छ । मानवताविरुद्धको विभत्व चिन्तनको पञ्जाले नेपालमा जातको नाममा नवराज विकहरूको हत्या गरिरहेको छ । त्यस्तै लिङ्गका नाममा महिलाहरूमाथि आधिपत्य र स्वामित्व प्रदर्शन गर्दै निजी ‘वस्तु’का रूपमा शोषण गरेका थुप्रै घटनाहरूले विश्वलाई स्तब्ध बनाउँदै आएको छ । त्यसलाई यो अभियानमा जागरण कोष बनाएर राहत दिने वा नेपालमा पुगेरै वातावरणीय विनास र मानवताको विरुद्धका अपराधबारे चेतनाको क्षेत्रमा स्वयम् वा दाताहरूसँग मिलेर लगानी गर्न सकिने अवस्थाबारे समेत बहस गर्नुपर्ने कुराहरू स्वयम् बैठकको एजेण्डा बनाएर छलफलमा जाँदा सुखद अनुभूति हुन्छ ।

एनआरएनको मुख्य लक्ष्य के हुनुपर्ने हो जस्तो लाग्छ ?

अहिलेसम्म नेपाल बस्ने र नेपाल फर्कने एनआरएन जमातलाई ध्यानमा राखेर बिचारको सम्प्रेषण गरियो । सङ्गठनको विधि निर्माण पनि सोहीअनुरूप हुँदै आयो । अब त्यसले पुग्दैन । जसले जेसुकै भनोस्, युरोप, अष्ट्रेलिया र अमेरिका बसेको नेपाली समूहमध्ये ९० प्रतिशत नेपाली या त नेपाल फर्कंदैन वा उनीहरूको दोश्रो पुस्तादेखि फर्किने क्रम रोकिन्छ । त्यो पुस्ताको अधिकतम् एनआरएन उच्च स्तरको प्राविधिक र दक्ष जनशक्ति हुने छ । हो त्यो प्राविधिक जमात नेपालको विकासको लागि निर्णायक जनशक्ति हुन सक्छ । त्यो जनशक्तिलाई कुनै न कुनै रूपमा नेपालसँग जोडिरहनु अहिले मात्र नभएर भविष्यको लागि पनि आवश्यक छ । अब नेपालीलाई नेपाल फर्काउने भन्दा नेपालसँग जोड्ने नीतिले नै दीर्घकालिक रूपमा अर्थ राख्ने देखिन्छ कि भन्ने बहस उठाउनुपर्ने देखिन्छ । हिजोसम्म संगठन विस्तार र नेपालको समृद्धि अभियान मात्र यो संस्थाको लक्ष्य थियो अब त्यो लक्ष्य परिमार्जन हुनु आवश्यक छ । प्राप्त उपलब्धिमा टेकेर पूर्ण अधिकारसहितको पुस्ता नतोकिकन नागरिकताको निरन्तरता एउटा लक्ष्य हुन सक्छ । त्यस्तै डायस्पोराको नेपाली समाजमा सांस्कृतिक तथा कुटनैतिक आधारहरूको निर्माण, ज्ञानसिपको संगठित पुँजीकरण, नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा निर्यात, संसारभरका नेपालीबीच भाइचारा सम्बन्ध लगायतका कुरा आउन सक्छन् । यी सबै गफ हुन् नभनिदिनु होला मित्रहरू । गफ त गफ नै हुन् तर केहि कुराहरू एनआरएन अभियानमा पनि काम लाग्न सक्छन् ।

क्षेत्रीय सम्मेलनको कुरा, एनआरएनएको विधान, वा पूर्ववत अभ्यासले समेत यो संस्थामा प्रतिपक्षको कल्पना गरेको छैन । तर केही साथीहरूले रूपान्तरणका ठूला योजनाहरूमा समेत कतै सहमति राख्न नजानेका हुन् कि जस्तो आभास पनि देखियो । केहीतिर अझै सिण्डिकेटको गन्ध आएको आभाष पनि भयो । त्यसैले संगठनलाई सिण्डिकेटको इच्छाले हैन पद्धतिले चलाइने आवाज अझै जोडले उठ्नुपर्छ र उठिरहेको छ । यो आवाजलाई पनि एनआरएन अभियन्ताहरूले रूपान्तरणमा क्यास गरिनु आवश्यक छ ।

रूपान्तरणको बहस आफैमा एउटा सुखद सुरुवात हो । संगठन चलाउने बनिबनाउ नेताले हैन, पर्फेक्टले हैन, अनुभव र प्रयोगको परिणाम हेरेर चलाउने हो । अभ्यासगत रूपमा आएका कतिपय प्रयोग सफल हुन्छन् कतिपय असफल पनि हुन्छन् । कार्यक्रमले नेता पनि जन्माउँदै जान्छ । नेतृत्वको क्षमता सबै परिणामपछिको मुल्याङ्कनले तय गर्ने कुरा हो । भन्नैपर्ने हुन्छ योजनाहरूको प्रयोग गर्ने सवालमा अलिअलि हल्ला वा विरोध भए पनि नेतृत्वपङ्क्ति दृढ रहनु होला ।

पुरानो पहलको कुरा गर्दा, नेपाली नागरिकताको निरन्तरताको कुरा धेरै अगाडिदेखि उठेको हो । एनआरएनएले सामुहिक रूपमा, केन्द्रको डेलिगेट्समार्फत र विभिन्न फोरमहरूमार्फत नेपाल सरकारसँग यो माग रहिरहेको सर्वविदितै छ । नेपाली पासपोर्टसँगै पूर्णअधिकारसहितको नागरिकताको पहल छाड्न हुँदैन र सांस्कृतिक नागरिकताको सट्टा अधिकारसहितको नागरिकता र पासपोर्टको माग निरन्तर उठाइरहनु अझै आवश्यक छ । त्यो पनि पुस्ता नतोकिकन । यो नेपाली भावना र अपनत्वसँग जोडिएको अहम् महत्वको विषयगत दबाब धेरै कालसम्म रहनु जरुरी छ ।

हिजोका गल्तीले कार्यालयको अपनत्व डुब्यो, लाप्राक बस्ती निर्माणको अदूरदर्शी निर्णयले संघ आर्थिक रूपले धरासायी भयो वा कुनै–कुनै अपारदर्शी निर्णयले संस्थागत लाभ कम भयो भनेर पश्चाताप गर्ने समय अब रहेन । भविष्यको लागि पहिलेदेखि एनआरएनएको अभियानमा आएका धेरै कुराले पुरानो शैलीलाई अब विघटनको माग गरेको छ । विगतका राम्रा–नराम्रा अनुभवहरूको कारण नीतिको क्षेत्रमा, योजना, पद्धति, विधि र लक्ष्य चयनमा समेत ब्यापक रूपान्तरणको माग आएको हो । समयको मागसँगै आएका यी सबै आवाजहरू योजनासहित प्याकेजमा आउनुपर्छ । तर समस्या के भने, त्यसको लागि नीति निर्माण गरी महाधिवेशनमा छलफल र अनुमोदनको लागि नलगी नीति पारित हुँदैन । छलफल तलदेखि माथिसम्म आह्वान गरिएको छ तर नीति बन्न बिशेष अधिवेशनको अर्को विकल्प छ कि छैन ? फेरि विरोध किन ?

अहिले आएको रूपान्तरणको यो बहस एक्कासी आएको जस्तो देखिए पनि त्यो हैन । विगतमा भएका नकारात्मक अनुभवहरूको सारले यसको आवश्यकता खट्किएको हो । अतः अब त्यसले नीतिगत बाटो पाउनु पर्छ र अवरोध गरिनु हुँदैन ।

अन्त्यमा, केही साथीहरूले रूपान्तरणको लागि नीति निर्माण गर्ने भन्दै विशेष अधिवेशनमा होमिदै गरेको केन्द्रलाई ठोकी हाल्ने कुरा गर्दै हुनुहुन्छ भने यो पनि बुझ्नु जरुरी छ कि संस्था ठोकेर वा अल्झाएर मात्रै रूपान्तरणमा जाने हैन । बेसुरको ठोकाइले त यो संस्थाको विघटनमा मात्र सहयोग पुर्याउँछ । कुन औजार बनाउने हो भनेर योजना अनुसार तातेको फलाम पिटियो भने मात्रै त्यसले योजनाअनुसारको आकार लिन्छ । अन्यथा धातुको मात्रै सत्यानास हो । त्यसैले कुनै कुरा रोक्न खोज्दा त्यसको उचित विकल्प दिएर गर्नु विवेकपूर्ण हुन्छ । नत्र ठोक्ने र ठोकिनेले देखाएको गाइजात्राले एनआरएन रूपान्तरणका सम्पूर्ण सपनाहरू निष्पट चिहानमा लगेर पुरिदिने छ । एनआरएनएहरू सँधै आगामी पुस्ताको मुख ताक्दै आफ्ना सपनाहरू जलेको आगोले केहीबेर शरीर तताउन सामर्थ्यवान हुने छौँ ।