नेपालस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भेटी भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गर्नुभएको छ ।
बिहीबार भएको भेटका क्रममा श्रीमती खम्पाले नेपालमा भूकम्पप्रभावित शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि ३० करोड ६६ लाखबराबरको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई ८१ करोड ९८ लाख रकम सोधभर्ना गरेको दूतावासले जनाएको छ ।
ज्ञातव्य छ, नेपालमा शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनलगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ । यी परियोजनाहरू गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । गोरखामा तीन र नुवाकोटमा पाँच वटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरू निर्माणाधीन अवस्थामा रहेकोमा सात वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन् ।
सो भेटमा भारत सरकारको सहयोगमा आवास, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियाजनाबारे पनि छलफल भएको बताइएको छ । गोरखा र नुवाकोट जिल्लामा पचास हजार घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ भने १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ ।
त्यस्तै, ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुननिर्माण तथा पुनस्र्थापनाका लागि अर्को ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ । आवास क्षेत्रका परियोजनाहरू लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरू विभिन्न चरणमा द्रुत रुपमा अघि बढिरहेका छन् ।
नियोग उप–प्रमुख खम्पाले नेपाल सरकारले पुनर्निर्माणको क्षेत्रमा गरेको प्रयासमा हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको कुरा दोहोऱ्याउनुभएको थियो ।
प्रतिक्रिया