डम्बर निदाल, डडेल्धुरा
डडेल्धुरामा आइतबार ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आइतबार बिहान ३ बजे दुर्घटनामा परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक नेपालका अनुसार कैलाली गेटाका ३५ वर्षीय ट्रकचालक ओमप्रकाश पन्तको मृत्यु भएको छ भने बाजुराको बडिमालिका नगरपालिका-५ का १८ वर्षीय मदन साउद घाइते भएका छन् । पन्तको घटनास्थलमै मृत्यु भएको र घाइते साउदको अवस्था मध्यम रहेको छ ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव डडेल्धुरा अस्पतालमा ल्याइएको छ । रातिको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया