निर्वाचनकेन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन

निर्वाचनकेन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन



गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा शनिबार सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिए ।

गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरू कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिए । ‘शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ’– सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले बताए ।

गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका ६ जिल्लाका प्रजिअ सहभागी थिए । प्रजिअहरूले आ-आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए । सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरू सहभागी थिए ।