डडेल्धुरामा गब्यधुपको शुरुवात

डडेल्धुरामा गब्यधुपको शुरुवात



डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा पहिलो पटक गब्य धुप बनाउन शुरु गरिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–३ गुनपालका एक स्थानीयले व्यवसायिक रूपमै धुप उत्पादन गर्न थालेका हुन् ।

गाईको गोबरमा गाईको घ्यू, गहुँत, जटामसी, जौ, तिल, तितेपाती, गुग्गल, तुलसी, धुपजडी, नरपाते धूप, देवदार, कपुर, बोझो, सिम्मे, काउलोलगायतका जडीबुडीहरू प्रयोग गरी स्थानीय भानबहादुर मल्लले गब्य धुप बनाउन थालेका हुन् । गाइपालन गरी व्यवसायिक रूपमा गब्य धुप बनाउन थालेको उनले जानकारी दिए ।

अहिले उनसँग कुनै उपकरण छैन । गब्य धुपमा प्रयोग हुने सबै जडिबुटीको धुलो बनाइ हातले नै उनले धुप बनाउन थालेका छन् । गाउँपालिकाभित्रकै बजार र गाउँमा धुपको माग बढेपछि अहिले उनलाई धुप बनाउन भ्याइ–नभ्याइ भएको छ । व्यवसायिक रूपमा धुप र मल उत्पादन गर्न उनले अहिले व्यवसायिक फर्म पनि दर्ता गरेका छन् । रोजगारीका लागि भारत गएका भान बहादुरले उतै सिकेको सिप अहिले गाउँमा आएर गर्न थालेका हुन् । २०६१ सालमा रोजगारीका लागि भारत गएका भानबहादुर गत वर्ष मात्रै घर फर्किएका थिए ।

करिव १५ वर्षसम्म भारतको होण्डा मोटरसाइकल कम्पनीमा काम गरेका उनले उतै गब्यधुप बनाउन सिकेका थिए । भारतमा हुँदा विभिन्न साधुसन्तहरूको संगत गरेका मल्लले पंचगब्य (गाईको गोबर, गहुँत, घिउ, दही, दुध) र विभिन्न जडिबुटीसम्बन्धी ज्ञानसमेत प्राप्त गरको बताए ।

हरियाणाको गुडगाँवमा कार्यस्थल बनाएका उनी भारतीय गौ क्रान्ती मञ्चको सदस्यसमेत भए । हिन्दुधर्मको जड नै गाई भएकाले नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईप्रति उनी सद्भाव राख्थे । गाईबाट प्राप्त हुने चिजबस्तुका फाइदाका बारेमा उनी जानकार बने । त्यहाँ सिकेको ज्ञान उनले आजभोलि गाउँघरमै उपयोग गर्दै आएका छन् ।

‘यो पवित्र गब्यधुप मठ-मन्दिर, पितृ कार्य, विवाह, ब्रत, पुजा कोठा, जन्मदिन तथा विभिन्न शुभ कार्यहरूमा अति उत्तम छ ।’ गाईको गोबरले विभिन्न भाइरसहरू मार्ने, घ्यूले अक्सिजन प्रदान गर्ने, जटामसीले दिमागमा ट्यूमर बन्न नदिने, देवदारले घरको कोठामा धमिरा लाग्न दिँदैन । यसैगरी जौ, तिल, तुलसी, गुग्गल, तितेपाती, सिम्मे, बोझो, गहुँत आदिले घरभित्र सकारात्मक उर्जा दिने गर्दछ । यसकारण गब्य धुप धार्मिक र स्वास्थ्यका लागि लाभदायक भएको उनको भनाइ छ ।

व्यवसायिक फर्म दर्ता गरेर धुप बनाउने उद्योगको शुरुवात गरेका उनले थोरै लगानी गरेर बजारमा उत्पादन ल्याइसकेका छन् । अहिले परिवारका सदस्यहरूले सहयोग गरिरहेको र बजारमा माग पनि बढिरहेको छ । कोरोनाका कारण भारतबाट मेसिन ल्याउन समस्या भइरहेकाले धुप उद्योगलाई विस्तार गर्न समस्या भइरहेको र मेसिन ल्याएर केही स्थानीयलाई रोजगारी दिने साथै गौशाला निर्माण गरी गाईपालन गर्ने उद्देश्य रहेको उनले बताए ।