नेकपाबाट वडाध्यक्ष बनेका थापा नेकपाकै कार्यकर्ताबाट कुटिएर गम्भीर घाइते

नेकपाबाट वडाध्यक्ष बनेका थापा नेकपाकै कार्यकर्ताबाट कुटिएर गम्भीर घाइते



हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते बन्न पुगेका छन् । स्थानीय श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात भएको हो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठक एवम् कार्यक्रम अनुगमनमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता-कार्यकर्ताद्वारा हातपात भएको र सो क्रममा उनको टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको हो । बताइएअनुसार वडाध्यक्ष थापाले प्राविधिकको सर्भेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै तर्क गर्दा उनमाथि एक्कासी ढुङ्गामुढा भएको थियो । सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन् ।

‘पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ, सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काएु, वडाध्यक्ष थापाको भनाइ छ ।

घाइते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच पनि झडप भएको थियो ।