मूल्य वृद्धि फिर्ता लिन नेवि सङ्घको माग

मूल्य वृद्धि फिर्ता लिन नेवि सङ्घको माग


‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’


नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

‘एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ’, उनले भनेका छन् ।

अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको बताएको छ । नेवि संङ्घको धम्कीका बाबजुद निगमले मूल्य वृद्धिको निर्णय फिर्ता नलिने सङ्केत दिएको छ ।

ज्ञातव्य छ, राजनीतिक दलका विभिन्न भातृसङ्गठनहरुले देखावटीका लागि यस प्रकृतिका ‘स्टेटमेन्ट’ जारी गरे पनि जनतालाई राहत दिलाउने सवालमा चाहिँ निचोडमा नपुगी मुद्धा त्यागिदिने प्रवृत्तिका कारण सरकारी निकायहरुले मनपरी निर्णय लागु गर्दै आएका छन् । आम जनताको तप्काले यसलाई ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उखान स्मरण गर्दै बेवास्ता गर्ने गरेका छन् ।