अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको दाबी गरेका छन् । नेपाल प्रेस सङ्गठन रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने जिकिर गरे । अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी नभएको उनको तर्क थियो ।
प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रह गरे ।
सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरु पनि निर्वाचनकेन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा अघि सारे ।
प्रतिनिधसभाबाट जनताका अपेक्षा पूरा नहुने भएपछि ताजा जनादेशमा गएको बताउँदै मन्त्री पौडेलले भने, ‘निर्वाचन लोकतन्त्रको प्राण हो । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जान सक्ने प्रष्ट व्यवस्था संविधानमा छ ।’
प्रतिक्रिया