पछिल्लो क्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबाट कांग्रेसका नेता–कार्यकर्तामाथि गम्भीर रूपले प्रहार हुन थालेको आरोप नेपाली काङ्ग्रेसले लगाएको छ । नेकपाका कार्यकर्ताले आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै काङ्ग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कुटपिट गरी धारिलो हतियार प्रहार गरेर हत्या गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकृष्ट भएको जनाएका छन् ।
मुख्य सचिव पौडेलका अनुसार बझाङ छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार (१३ माघ) साँझ सिंहलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
यस घटनाको नेपाली कांग्रेसले घोर निन्दा र भत्सर्ना गर्दछ भन्दै उनले घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।
काङ्ग्रेसको विज्ञप्तिमा भनिएको छ- ‘सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो । पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन् । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका छन् । भविष्यमा यस्ता घटना पुनः नदोहोऱ्याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’
यसैगरी, बाग्लुङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेस सचिव विकाश पौडेलको उपचारका क्रममा धवलागिरी अञ्चल अस्पताल, बाग्लुङमा निधन भएकोमा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । जैमिनी नगरपालिका वडा नं. ७ जैदीनिवासी पौडेलले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया