आरपी उपाध्याय, नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध कार्यमा प्रयोग गरिएका दुई गाडीसहित ठूलो मूल्यबराबरको अवैध मालसामान नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याएको ४४ लाख ६५ हजार मूल्यबराबरको अवैध सामाग्री प्रहरीले बरामद गरेको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध सामानसहित गाडी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । बर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित भित्री सडकमा पार्किङ गरी राखिएको लु.अ. ९२३१ नम्बरको कारलाई चेकजाँच गर्दा कारमा भारतबाट भन्सार छली ल्याइएको मोटर पार्ट्ससहित इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए ।
बताइएअनुसार प्रहरीले नियन्त्रणमा लिएको मोटर पार्ट्सका सामानको मूल्य ८४ हजार, अनटेस्ट गाडी ३० लाख गरी जम्मा ३० लाख ८४ हजार रहेको छ । बरामद गाडी र सामानलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार बुझाइएको प्रहरीले जानाएको छ ।
त्यसैगरी भारतबाट भन्सार छली लु. १ ज ४२७९ नम्बरको पिकअपमा राखी ल्याउँदै गरेको ४१६ पिस टायल सरावल गाउँपालिका ७ मोजरैयाबाट सिमा प्रहरीचौकी महेशपुरको टोलीले गाडी र चालकसहित नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको टायलको मुल्य १ लाख २५ हजार र पिकअपको मूल्य ९ लाख रहेको डिएसपी लामाले बताए ।

यसैगरी, भारतबाट भन्सार छली लुकाइ राखेको अन्दाजी २ लाख २७ हजारको थान कपडा र मसलाजन्य सामान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले जिमिरेभार बजारबाट बरामद गरेको बताइएको छ । प्रहरीले पार्टपुर्जा, झ्याल–ढोकाको कब्जा, चिनी, सुर्तीलगायत मालसामान सरावल गाउँपालिका–७ बाट बरामद गरी भन्सार बुझाएको छ ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्यबराबरको १ हजार केजी जिउँदो बोइलर कुखुरा पनि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाइनमा बुझाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी टोलीले सुस्ता–१ रुपौलिया सडक खण्डमा साढे ३ लाख बराबरको अवैध कपडा नियन्त्रणमा लिई महेशपुर भन्सार बुझाएको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा अवैध रुपमा नेपाल ल्याइएको विभिन्न सामाग्रीलाई नियन्त्रणमा लिएको सम्बन्धमा प्रहरी उपरीक्षक अजय केसीले घटना र विचारसँगको कुराकानीमा नवलपरासीमा हुने गरेको अवैध कार्यलाई पुर्ण रूपमा नियन्त्रण गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय र मतहतका युनिट लागिपरेको बताउँदै नवलपरासीलाई तस्करीमुक्त जिल्ला बनाउने कार्यमा आफुहरू लागिपरेको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया