- डा. कर्णबहादुर थापा
शिव अवतारी महासिद्ध (शिव गोरक्ष) महायोगी गुरु गोरखनाथ बाबा हाम्रो राष्ट्रका संरक्षक हुनुहुन्छ । राष्ट्र संरक्षणमा काली शक्तिसमेत एकाकार भएर गोरखकाली भएको छ । त्यही विराट विरासतमा आवद्ध गाईको रक्षा गर्ने गोरक्ष परम्पराको साहित्य, इतिहास र अलौकिक विषयवस्तुहरूलाई आफ्नो समाजबाट बिरानो बन्नबाट जोगाउन भावी पुस्ताप्रतिको जवाफदेहिताको निर्वाह गर्ने महान् ऐतिहासिक कार्य अर्जुन ज्ञवालीबाट भएको छ । आफ्नो भगीरथ प्रयासबाट दुर्लभ स्रोत-सामग्रीहरू सङ्कलन गरेर निःशर्त र निःस्वार्थ भावबाट गोरखनाथ र नेपाल राष्ट्रबारे अर्जुन ज्ञवालीको दोस्रो कृति महायोगी गुरु गोरखनाथ र नेपालमा मन्तव्य राख्ने अवसरका लागि लेखकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
वर्तमान विराट सनातन चेतनाका सम्वाहक ओझेलमा पारिएका घोषित अघोषित प्रपञ्चहरू र छलवलका कारण समग्र समाज मर्माहत भएको छ । अपमानित भएको छ । लज्जित भएको छ । गौरक्षक योगीले रक्षा गरेको देशमा, गौगायत्रीका मन्त्र उच्चारण भएर गाई पुजिने देशमा निर्लज्ज ढङ्गले सामूहिक गौहत्या २०७६ सालमा नेपालगञ्जमा हुँदाको दृष्य देख्नु पर्यो, ब्यहोर्नु पर्यो । गोरक्ष चेतनाको नयाँ जागरण समाजमा ल्याउन गोरक्ष ज्योतिको मसाल बोकेर अनेक प्रतिकुलतालाई चिर्दै कलम र मसिका बलमा मैदानमा खडा हुनुभएका लेखकलाई मुक्त कण्ठले प्रशंसा मात्र होइन हार्दिक बधाई अर्पण गर्दछु । भावी पुस्ता आभारी रहिरहनेछन् । नेपालको भूगर्भ र वायु मण्डलले समेत गौरक्षाको अनुभूत साथै गाईको खुशी प्रक्षेपित हुनेमा बल पुग्नेछ भन्ने विश्वास लिन सकिन्छ ।
एक दृढ विश्वास के राख्न सकिन्छ भने प्रस्तुत पुस्तक प्रकाशनबाट योगी नरहरिनाथका राष्ट्र रक्षा, जय गोर्खा, हाम्रो मौलिकता, आध्यात्मिक भूमि नेपाल जस्ता अभियानलाई निरन्तरता दिने काम भएको छ । आज देशमा चाहेजति विश्वविद्यालय छन्, शैक्षिक संस्था छन्, विद्वान-विज्ञ छन् तर गोरखनाथका बहुआयामिक पक्षमा सार्थक पहल र कदम चलाउने काम भएको देखिँदैन । साँचो इतिहास, धर्म, संस्कृतिमा गर्व गर्न, उत्थान पुनरुत्थान गर्न हिच्कीचाहट छ । काला र अँध्यारा कोठाबाट हाम्रो मौलिकताविरुद्ध प्रपञ्च भएको स्पष्ट आभाष मिल्दछ । वि.सं. २०२० मा योगी नरहरिनाथले गर्नुभएको अध्ययनले काठमाडौंबाट पश्चिममा मात्र दर्शनी (कानफटा) र औघढ (गृहस्थ) योगीहरूको संख्या २६०० को हाराहारीमा थियो । यो संख्या क्रमशः घट्ने क्रममा छ । गोरक्ष चेतनालाई आत्मसात नगर्दासम्म संख्याले मात्र केही हुन पनि सक्दैन । योगी नरहरिनाथविरुद्ध षड्यन्त्र भएपछि अरु योगीहरू डराएको देखिन्छ । यो काम निर्भिकतापूर्वक लेखकले अगाडि बढाउनुभएको छ ।
परिवर्तन र निरन्तरता यथोचित सन्तुलन हुनुपर्दछ भन्ने यथार्थलाई लेखकले प्रस्तुत गर्नुभएको छ । पुस्तकको आशय त्यही देखिन्छ । राष्ट्रियताको कसिमा लेखक खरो उत्रिनुभएको छ । परिवर्तनका नाममा आफ्नो परम्परा न बन्धक राख्न सकिन्छ न त लिलाम नै गर्न सकिन्छ । यो लेखकले शुरु गर्नुभएको कलमको युद्ध पनि हो । विश्व विखण्डनकारी योजनाका जालमा साना र कमजोर राष्ट्रमा आफ्नै मानिस मतियार बनेर मातृभूमिको छातीमा छुरा प्रहार गर्नेले हामीकहाँ सिद्ध-बुद्ध सम्बन्ध, नाथ-मुशलमान सम्बन्धजस्ता सामाजिक सद् भावमा पनि लेखकको गम्भीर सरोकार देखिन्छ । सम्प्रदाय, पन्थ वा समूहबीचका झगडा (सेक्टेरियन भ्वायलेन्स)का विरुद्ध पनि गोरक्ष साहित्य र सूक्ष्मतत्व बुझ्न जरुरी छ ।
नाथ साहित्यमा बाह्यार्थ भन्दा तत्वार्थमा पुग्न कोशिस गर्नुपर्दछ । तिनै तत्वहरूलाई लेखकले सरल भाषामा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । नाथ विधिबाट आत्म तत्व बुझ्न कोसिश गर्नेलाई न त आकाशले लुकाउन सक्छ, न आगोले डढाउन सक्छ, न हावाले उडाउन सक्छ, न पृथ्वीले सडाउन सक्छ, न पानीले डुबाउन सक्छ । अर्थात् नाथ तत्व पञ्चतत्वभन्दा माथि छ । हामीले अन्तरपुस्ता जवाफदेहितालाई मध्यनजर राख्दै भावी पुस्तामा यही सत्य सञ्चार गर्नुपर्दछ भन्ने पुस्तकको आशय देखिन्छ । यस्तै सुगन्धले धर्ती मगमगाउनु पर्दछ । गोरक्ष चेतनाले हाम्रो माटो पोषित र पुष्पित हुनुपर्दछ भन्ने ध्येय पुस्तकमा पाइन्छ ।
गोरक्ष साहित्य, इतिहास, दर्शन र परम्परा नेपालको भूमिमा अब कसैको बन्धक बनेर सुषुप्त रहन सक्दैन । योगी नरहरिनाथका अभियान अगाडि बढ्छन् । सिद्ध, बुद्ध, ऋषिमुनिहरूका तपस्याका अंश नेपालको धर्ती, नदिनाला, गुफा, कन्दरामा बाँकी छन् । आशिषका वर्षाहरू लेखकलाई जस्तै हाम्रा सन्ततीहरूमा वर्षिरहुन् । हिमालको सुकिलो धुरी, सप्तकोशी र सप्तगण्डकीका सेरोफेरो र तराईका फाँटहरूमा गोरक्ष सूक्ष्म ज्योतिको आशीर्वाद प्राप्त भइरहोस् । लेखक, भगवा (पहेँलो) वस्त्र धारण नगरेको निर्भिक योगी हुनुहुन्छ । यहाँलाई हरपल माँ गोरखकाली र बाबा गोरखनाथको असीम कृपा बनिरहोस् । यस्तै अन्वेषण र अनुसन्धानमा माता सरस्वती तपाञीको कलममा बरदायिनी बनेर रहुन् ।
(योगी सिंहनाथ, विद्यावारिधि)
प्रतिक्रिया