विश्वमै नेपाल र नेपालीको प्रतिष्ठा बढाएकोमा निर्मल पुर्जाको टोलीलाई पूर्व श्री ५ बाट बधाई

विश्वमै नेपाल र नेपालीको प्रतिष्ठा बढाएकोमा निर्मल पुर्जाको टोलीलाई पूर्व श्री ५ बाट बधाई



हालसम्म कोही पुग्न नसकेको विश्वकै दोस्रो अग्लो ‘केटू’ हिमालको सफल आरोहण गरेकोमा निर्मल पुर्जासहितको टोलीलाई पूर्व श्री ५ ज्ञानेन्द्र शाहले बधाई दिनुभएको छ ।

शुक्रबार एक बधाई सन्देश जारी गर्दै पूर्व श्री ५ ले नेपाल विश्वका अनेकौँ उच्चतम हिमाल रहेको, अनेकौँ साहसी आरोही, पथप्रदर्शक तथा प्रेरकहरूको देश रहेको स्मरण गराउनुका साथै निर्मल पुर्जाको टोलीले गत वर्ष सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल ६ महिना ६ दिनको अवधिमा आरोहण गरेको उल्लेख गर्नुभएको छ ।

सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको केटू हिमालको आरोहणका लागि पुर्जाको टोलीप्रति पूर्व श्री ५ ले सम्मानभाव प्रकट गर्नुभएको छ । यस्ता प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठा वृद्धि भएको सुखद अनुभूति आफूलाई भएको उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

ज्ञातव्य छ, नेपाली आरोही समूह यही माघ ३ गते शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८,६११ मिटर अग्लो केटू हिमालमा जाडो याममा आरोहण गर्ने निर्मल पुर्जासहितको समूह विश्वकै पहिलो आरोही टोली बन्न सफल भएको छ ।