ब्राजिलमा करिव एक वर्षको अन्तरालमा २,२२,६६६ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा १,११९ व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।
यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९,८२६ पुगेको र अहिलेसम्म त्यहाँ ९१,१८,००० भन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यस राज्यमा मात्र १७,५९,००० व्यक्ति सङ्क्रमित भएका र ५२,७२२ व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा ५,१६,००० भन्दा बढी सङ्क्रमित भएका र २९,५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ ।
ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।
ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चितकालका लागि रोकेका छन् ।
प्रतिक्रिया