म्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीका सर्वोच्च नेता आङ सान सू चीलाई त्यहाँको सेनाले नियन्त्रणमा लिएको छ । उक्त पार्टीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका छन् ।
पछिल्ला केही दिनयता म्यानमारको सरकार र सेनाबीच तनाव बढेको थियो भने सरकार अपदस्त गरिन सक्ने सम्भावना प्रकट गरिँदै आएको परिवेशमा सू चीलाई सेनाले हिरासतमा लिएको हो ।
आङ सान सू ची र राष्ट्रपतिलाई उनीहरूका निवासबाटै सेनाले नियन्त्रणमा लिएको एनएलडी पार्टीले जनाएको छ । बताइएअनुसार म्यानमारका १४ वटै प्रदेशका मुख्यमन्त्रीलाई पनि सेनाले नियन्त्रणमा लिएको छ।
सत्तासीन नेताहरूलाई हिरासतमा लिएलगत्तै सेनासमर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।
नेशनल लिग फर डेमोक्रेसीले गत नभेम्बरमा भएको निर्वाचनमा भारी मतान्तरले चुनाव जितेको थियो । तर सेनाले उक्त चुनावमा धाँधली र अनेक गडबडी गरिएको दाबी गर्दै आएको थियो ।
सेनाले सू ची, राष्ट्रपति वीन म्यीन्टलगायत सो पार्टीका अन्य नेताहरूलाई सोमबार सबेरै हिरासतमा लिएको बताइएको छ ।
यतिबेला म्यानमारको राजधानी तथा प्रमुख शहर यङ्गुनमा पनि सडकमा सैनिक गस्ती शुरु गरिएको छ । राजधानी नेपीटावमा टेलिफोन र इन्टरनेट सेवा काटिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया