रोकिराखेको ट्रकमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोकिराखेको ट्रकमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते


विकास रौनियार, धादिङ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ कोइरालेमा ट्रक जुध्दा दूई जनाको ज्यान गएको छ ।

मुग्लिङबाट काठमाडौं आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले सोही दिशातर्फ बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ठक्कर दिने ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी वडा नं ९ का किरण प्रताप गुरुङ्ग रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्ररहीले जनाएको छ ।

नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का चालक लिलाराम अधिकारी भने गम्भीर घाइते भएका छन् । साथै बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते रहेका छन् । उनीहरूको उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लगिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।

चालक निदाएर ट्रक ठक्कर खाएको हुन सक्ने प्रहरीको अनुमान रहे पनि थप जानकारी लिने कार्य भइरहेको बताइएको छ ।

गएराति ३ बजेर ३० मिनेटमा भएको दुर्घटनामा च्यापिएका चालकको २ घण्टा लगाएर मात्र प्रहरीले उद्वार गरेको निरीक्षक पाण्डेले बताए । मृतक दुवैको शव गजुरी प्राथमिक चौकीमा राखिएको बताइएको छ ।