कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही
कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई आइएमई ग्रुपद्वारा रकम हस्तान्तरण गरिएको छ ।
मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीलाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाट व्यक्त गर्नुभयो । वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरूलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने धेरै भएको उल्लेख गर्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले भरोसा कोषमार्फत प्रभावित परिवारलाई सहयोग पु¥याउँदै आएको र संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणा को विषयमा प्रकाश पार्नुभएको थियो ।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कूल १५ जनालाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग राशीबराबरको चेकहरु संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
कोरोना भाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर २ को राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको जानकारी दिइएको छ ।
प्रतिक्रिया