रासस
भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ ।
कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा मंगलबार पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ ।
पहिरो गएको क्षेत्रमा भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । ‘पहिरो पन्छ्याउने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन ।’
पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताउनुभयो । यहाँबाट प्रहरी टोली पुग्न पाँच/छ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया