संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको पन्तको तर्क

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको पन्तको तर्क



वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटन भएको जिकिर गर्नुभयो ।

उहाँले नेपालको संविधानको धारा ७४ ले विघटन अधिकार दिएको र त्यसका लागि धारा ८५ पर्याप्त भएको धारणा राख्नुभयो । विसं २०५१ मा गिरिजाप्रसाद कोइराला, २०५२ मा मनमोहन अधिकारीले गरे जस्तै अहिले २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन संसदीय अभ्यासअनुसार नै भएको जिकिर उहाँले गर्नुभयो ।

नेपालको संसदीय व्यवस्था ‘सुधारिएको’ र ‘हाइब्रिड’ दुवै भएको समेत अधिवक्ता पन्तले इजलासको प्रश्नको जवाफमा बताउनुभयो ।

आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस शुरू भएसँगै महान्यायाधिवक्ता खरेलपछि वरिष्ठ अधिवक्ता पन्तको बहस शुरू भएको हो । मङ्गलबार बहस नसकिएपछि आज पनि पन्तले निरन्तरता दिनुभएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।