संवैधानिक निकायका नियुक्ति बदर गर्न सभामुख सापकोटाद्वारा रिट दायर

संवैधानिक निकायका नियुक्ति बदर गर्न सभामुख सापकोटाद्वारा रिट दायर



संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागीलगायत संवैधानिक निकायमा नियुक्त भई शपथ लिने ३२ जनासमेत गरी ३९ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

संवैधानिक निकायमा भएका नियुक्तिलाई बदर गर्ने मागसहित रिट दायर गर्न सापकोटा शुक्रबार आफै अदालत पुगेका थिए । सापकोटाले दायर गरेको रिटको पहिलो पेसी आइतबारका लागि तोकिएको छ ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको सिफारिस गरेको थियो भने संसदीय सुनुवाईबिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले गत बुधबार शपथ लिएका थिए ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुले शपथ खाएका हुन् ।

ज्ञातव्य छ, संघीय संसदको कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।