झुलाघाट नाका सञ्चालनमा, व्यावसायी खुशी

झुलाघाट नाका सञ्चालनमा, व्यावसायी खुशी



भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै नाका सञ्चालनमा आउने जनाएको हो ।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो ।

नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । ‘अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ’, जोशीको भनाइ छ ।

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । यस्तै लामो समयदेछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन् ।