लण्डन । तमू धिं यूकेले गत शिनबार, लण्डनस्थित केम्प्टन पार्कमा एक पत्रकार भेला गरी यही महिनाको चौबीस तारिख सोही पार्क हुन गइरहेको नेपाली मेलाको बारेमा गरिएको तैयारीसम्वन्धी जानकारी गराएको थियो । तमू धिं यूकेका अध्यक्ष कमल गुरुंगको सभापतित्वमा सम्पन्न उक्त भेलामा संस्थाका उपाध्यक्ष सूर्य(रामचन्द्र) गुरुंगको स्वागत मन्तव्य रहेको थियो जसको लगत्तै अध्यक्ष गुरुंगले मिडियाको महत्वको बारेमा चर्चा गर्दै यूकेस्थित सम्पूर्ण नेपालीहरुलाई मेलालाई प्रतिनिधित्व गर्ने नेपाली मेलालाई सफल पार्नको लागि सहयोग गरिदिनको लागि पत्रकारहरुलाई आग्रह गरेका थिए ।
दुई चरणमा बाँडिएको उक्त कार्यक्रमको पहिलो चरणमा मिडियासँगको अन्तरक्रिया भएको थियो भने दोस्रो चरणमा संस्थाकै आन्तरिक कृयाकलापहरुसँग सम्वन्धित थियो । नेपाली मेलाका संयोजक तथा संस्थाका उपाध्यक्ष ग्याम गुरुंगले कार्यक्रमको लागि पूर्ण तयारी भइरहेको र केम्प्टन पार्कमा हुन गइराखेको नेपाली मेलाको यो दोस्रो अवसर भएको र भविष्यमा पनि यही स्थानलाई निरन्तरता दिने गरी सो स्थानको उपलब्धता मिल्नेमा आफूलगायतकालाई संकेत मिलेको उल्लेख गरेका थिए । गत वर्षको कार्यक्रमबाट सन्तुष्ट भएकोले केम्प्टन पार्क रेसकोर्सका प्रवन्धकले यसपटकको कार्यक्रममा थप सुविधाहरु उपलब्ध गराएको, सो स्थानमा तीस हजारभन्दा बढी कार पार्किंगको सुविधा भएकोबारे जानकारी दिँदै उपाध्यक्ष गुरुंगले यूकेस्थित सम्पूर्ण नेपालीहरुलाई बिनाभेदभाव आआफ्नो संस्कृति र परम्पराहरुलाई अगाडि बढाउनको लागि सबैलाई तमू धिं यूकेले ढोका खुल्ला गरिदिएको र त्यसको लागि प्लेटफार्मको रुपमा संस्था रहेको कुरा व्यक्त गरेका थिए ।
विगतका वर्षहरुका तुलनामा यसपटकको नेपाली मेलामा धेरै कुराहरु थप गरिएका छन् । कान्तिपुर रेडियो, नेपाली टीभी र एभरेष्ट नेटले उक्त कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गर्ने भएका छन्, यसका अतिरिक्त सो प्रत्यक्ष प्रशारणलाई सोही स्थानमा रहेका दुई वटा टलिभिजन स्क्रिनहरुबाट पनि दर्शकहरुले अवलोकन गर्न पाउने छन् । एनआरएन यूकेको पनि पहिलोपटक प्रत्यक्ष सहभागिता रहने भएको छ । त्यस्तै गरी यसपटकको कार्यक्रममा टिकट विक्रिको लागि अनलाइनको व्यवस्था गरिएको छ जसमा चारवटा टिकट अनलाइन खरिद गरेवापक एउटा टिकट निःशुल्क दिइने व्यवस्था राखिएको छ ।
विभिन्न किसिमको झाँकी, भेषभुषालगायत नाच तथा गायनको प्रदर्शनी रहने बताइएको राफल चिट्ठाको व्यवस्था पनि गरिएको छ । मुख्य अतिथिको रुपमा का.वा. राजदूत रहने, विशेष्न अतिथिको रुपमा नेपाली उपमेयर जगन्नाथ शर्मा र विष्णु गुरुंगको उपस्थिति रहने छ । सो मेलाबाट उठेको रकमले नेपालमा हाल भइरहेको बाढी पीडितहरुको सहयोगार्थ खर्च गरिने जानकारी संस्थाले सोही समप जनाएको छ ।



प्रतिक्रिया