भारतको उत्तराखण्डस्थित हिमनदीको बाढीमा परेर दशको मृत्यु, डेढ सय बेपत्ता

भारतको उत्तराखण्डस्थित हिमनदीको बाढीमा परेर दशको मृत्यु, डेढ सय बेपत्ता


उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म दस जना मृत भेटिएको पुष्टि गरिएको छ ।

उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको भारतीय अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको र करिब डेढ सय मानिसहरू हराइरहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पुर्‍याएको भिडियोहरूमा देखिन्छ। हराइरहेका मध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन हुँदै गरेको उल्लेख गर्दै ट्वीटरमा लेखेका छन्- ‘सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।’ भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको भारत सरकारलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

इन्डो–तिब्बती सीमा प्रहरीले दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ ।