डम्बर निदाल, डडेल्धुरा
डडेल्धुरा जिल्ला सदरमुकाम बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुँदा सवारीसाधन लगायत सर्वसाधारण लाई सास्ती हुने गरेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका बागबजारक्षेत्र लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानीयले सास्ती खेप्नु परेको हो ।
सदरमुकाम बागबजारमा रहेकोे बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्दा ठाउँ नै हुँदैन भने बजार क्षेत्रमा पार्किङ गर्ने ठाउँ पनि नभएकाले बजारमा जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रु लाई झन समस्या हुने गरेको छ ।
दैनिक सयौँ सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिम समेत रहेको छ, बजारक्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने, विभिन्न बहानामा सवारी पार्किङ गर्ने गरेकाले दैनिकजसो सवारीसाधनहरू जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।
पटक–पटक बजार ब्यवस्थापनका लागि सडक चौडा बनाउने भनिए पनि सर्वोच्चको फैसलाबमोजिम सडक क्षेत्रका घरजग्गा धनीहरूको मुआब्जा मागलगायतका विभिन्न विवाद र कारणले सडकको टेण्डर काम रोकिने गरेकाले बजार क्षेत्र व्यवस्थित हुन सकिरहेको छैन ।

ट्राफिक प्रहरी डडेल्धुराले पटक–पटक पार्किङ निषेधका बोर्ड लगाउनुका साथै जरिवाना र जनचेतनामूलक सन्देश प्रवाह गर्ने गरिएको भए पनि सडकमा मोटरसाइकल तथा साना गाडीहरू राख्ने विशेष र व्यवस्थित स्थान नभएकोले एकैछिन भए पनि सडकमा राख्नैपर्ने बाध्यता रहेको सवारीसाधन चालकहरूको भनाइ छ ।
राजमार्ग मात्र नभइ सदरमुकाम आसपासमा आवागमन गर्ने मुख्य सडकको विषयमा पटक–पटक आवाज उठिसक्दा पनि विभिन्न कारणले बजार क्षेत्र ब्यवस्थित हुन सकेको छैन ।
बजारमा ब्यवस्थित बसपार्क नहुँदा सडकमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेकोले दुर्घटनाको जोखिम बढेको छ । डडेल्धुरा बजार क्षेत्र साँघुरो छ त्यसमाथि जथाभावी सवारीसाधन पार्किङ गरिँदा सर्वसाधारणलाई गाडी छेउबाट बाटो काट्नु पर्दा झनै समस्या भएको स्थानियवासी बताउँछन् ।
बजार क्षेत्र चौडा गर्नका लागि पटकपटक टेण्डर आब्हन गरिए पनि विभिन्न कारण टेण्डर रद्द समेत भएकाले बजार क्षेत्र ब्यवस्थित हुन सकेको छैन । बजारमा रहेको बसपार्क आफैमा क्षमता कम छ, बसपार्कको विकल्पका रूपमा अमरगढी नगरपालिकाको डकलेमा निर्माण गरिने भनिएको बसपार्कको काम पनि विभिन्न कारणले अलपत्रमा रहेको छ । दैनिक सयौँ सवारीसाधन आवतजावत हुने डडेल्धुरा बजारमा ट्राफिक ब्यवस्थापनमा समेत कठिनाई हुने गरेको छ ।
प्रतिक्रिया