- आरपी उपाध्याय, नवलपरासी
मुलुककै एक विकट स्थानको रूपमा चिनिने पश्चिम नवलपरासीको सुस्ता जोड्ने गरी नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य पुनः सुचारु भएको छ । कोभिड महामारीका कारण रोकिएको झुलुङ्गे पुल निर्माण कार्य पुनः अगाडि बढेको हो ।
हाल पुलको क्याब निर्माणको काम भइरहेको छ । पुल निर्माणका लागि जमिनमुनि गर्नुपर्ने पाइलिङको काम अधिकांश सकिएको ठेकेदार कम्पनीले दाबी गरेको छ ।
उक्त पुल निर्माण कार्यमा २४ वटा मात्र पाइलिङ गर्न बाँकी रहेको आयोजनाका इन्जिनियर अशोककुमार मण्डलले बताएका छन् । कोरोना महामारीले निर्माण कार्य हुन नसकेको बताउँदै उनले यतिबेला कामलाई तीव्रता दिईएको दाबी गरे । दशैँलगत्तै निर्माण कार्य सुरु हुने भनिएकोमा ढिलो गरी मात्रै काम शुरु भएको थियो ।
पाइलिङको काम बाँकी भए पनि पानीको सतह अझै घट्नुपर्ने भएकाले काम गर्न नसकिएको पनि इन्जिनियर मण्डलले जानकारी दिए । नेपालका श्रमिकबाट सबै काम सम्भव नभएकोले अधिकांश कामदार भारतीय भएको र कोभिडका कारण सबै घर गएकाले पनि केही महिना काम बन्द भएको उनको भनाई छ ।
निर्माण कार्यको जिम्मा त्रिशुली आश्रय जेभीले पाएको भए पनि त्रिशुली आश्रयकै लापर्वाहीका कारण पटक–पटक सयम थप गर्दासमेत पुल निर्माण कार्य पूरा हुन नसक्नु चिन्ताको विषय बनेको छ । निर्माण कार्य थपिएको समयअनुसार दुई वर्षअगाडि नै सकिनुपर्नेमा हालसम्म पुलको कामले पुर्णता पाएको छैन ।

जमिनमुनि गर्नुपर्ने पाइलिङको धेरै काम भने सकाएको ठेकेदार कम्पनीले दाबी गरेको छ । निर्माण काम छोडेर सम्पर्कविहीन बनेका ठेकेदार कम्पनीलाई फिर्ता बोलाई फेरि गत वर्षको पुसबाट काम सुचारु गरिएको थियो । यस सम्बन्धमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पुल निर्माणको अनुगमन गर्दै छिटोभन्दा छिटो सम्बन्धित ठेकेदार कम्पनीलाई काममा तीव्रता ल्याउन निर्देशन दिएका छन् ।
विकट मानिएको नदीपारी सुस्ता गाउँसँग झोलुङ्गे पुलमार्फत सिधा सम्पर्क कायम गराउने आफ्नो उद्देश्य रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताएका छन् । नेपालकै लामो पुलमध्ये एक सुस्ता जाने झुलुङ्गे पुल सुस्ता गाउँपालिका–५ को सकरदिनही आसपासबाट शुरु भइ पारि सुस्ताको घाटसम्म कुल १५ सय ७१ मिटर लामो हुनेछ भने सोको लागि ६२ ओटा स्ट्यान्ड पिलर रहने बताइएको छ । २२ करोड ८० लाखमा ठेक्का सम्झौता भएको पुल दोधारा चाँदनी पुलभन्दा ११९ मिटर लामो रहेको पनि सम्बद्ध श्रोतले बताएको छ ।
लामो समयदेखि सपनाको रूपमा रहेको झुलुङ्गे पुल निर्माण हुन सके अतिक्रमणको चपेटामा पर्दै आएका सुस्तावासीलाई धेरै सहज हुने पनि स्थानीय बासिन्दाको भनाइ छ । नारायणी नदीमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका सुस्ताबासीहरू पुल निर्माण भएमा सहजै आवातजवात गर्न सक्नेछन् भने वडा कार्यालय र गाउँपालिकासँग पनि प्रत्यक्ष सम्बन्ध स्थापित हुने बताइएको छ । वर्षायाममा डुंगासम्म नचल्दा भारतीय भूमिको बाटो प्रयोग गर्दै अवातजवात गर्नुपर्ने बाध्यता रहेको छ भने भारतको बाटो हुुँदै आवातजावत गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले बेला–बेला नेपाली नागरिकलाई दुःख दिँदै आएको पीडाबाट सुस्ताबासीले मुक्ति पाउने पनि विश्वास लिइएको छ ।
प्रतिक्रिया