गरिमा विकास बैंकको १४औं बार्षिक साधारण सभाले श्यामप्रसाद बस्यालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । पोखरामा शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आगामी चारवर्षे कार्यकालको लागि बस्यालसहित ६ सदस्य रहेको संचालक समिति चयन गरेको हो । यसअघि चन्द्रकान्त बराल बैंक सञ्चालक समितिका अध्यक्ष थिए ।
संचालक समितिका सदस्यहरूमा संस्थापक तर्फबाट डा. आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट संजिव ढकाल, सरस्वती पाठक र विमल पाण्डे रहेका छन् ।
संस्थाको ५४ अर्ब ५१ करोड निक्षेप रहेको छ भने ४६ अर्ब ८५ करोड कर्जा (लगानी) भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ । उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ चुक्ता पुँजी रहेको छ जसमध्ये १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैया बोनश शेयर जारी गर्ने भएको हो । संस्थाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैया नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको निवर्तमान अध्यक्ष बरालले बताए ।
संस्थाले यस वर्ष पनि उत्कृष्ट शाखा सम्मानबाट नगदसहित सम्मान गरेको उल्लेख गर्दै बरालले जानकारी दिएअनुसार चितवनको मिलनचोक शाखा प्रथम, कास्की पोखरा हेमजाको शाखा दोश्रो र काठमाडौंको लाजिम्पाट शाखा तेश्रो भएको छ । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ४० हजार र तेश्रो हुनेलाई ३० हजारको साथमा प्रशंसा पत्रद्वारा शाखा प्रमुखसहितको टिमलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया