अफगानिस्तान-इरान सीमामा सयभन्दा बढी तेल ट्याँकरमा आगलागी

अफगानिस्तान-इरान सीमामा सयभन्दा बढी तेल ट्याँकरमा आगलागी



इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । सम्बद्ध अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालामा शनिबार अपराह्न उक्त आगलागी भएको थियो । आगो नियन्त्रणमा ल्याइए पनि उक्त घटनाको छानबिन र अनुसन्धान शुरु भइसकेको अधिकारीहरुले बताएका छन् ।

हेरात प्रान्तका गभर्नरका प्रवक्ता जैलानी फरहादले आगलागीबाट १०० वा २०० ट्याँकर ध्वस्त भएको खबर प्राप्त भएको जनाउँदै आगलागीबाट सोचेभन्दा बढी नोक्सानी भएको बताएका एएफपीले जनाएको छ । उनले घटनाको अनुसन्धानबाट मात्र यथार्थ विवरण प्राप्त हुन सक्ने जानकारी दिए ।

उनले उक्त आगलागीका कारण करिब २० व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको पनि बताए ।

सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा आकाशमा धुँवाको ठूलो मुस्लो देखिएको छ ।

अफगान अर्थमन्त्रालयले आगलागीबाट ठूलै आर्थिक क्षति भएको जनाउँदै इन्धन, ट्याँकर र भन्सार कार्यालयहरुमा क्षति पुगेको बताएको छ ।

हेरात चेम्बर अफ कमर्शका प्रमुख युनुस क्वाजी जादाले प्रारम्भिक विवरणमा दशौँ लाख डलर बराबरको क्षति पुगेको बताउनुभयो । हेरात प्रान्तका धेरैजसो स्थानमा आइतबार विद्युत आपूर्ति अबरुद्ध भएको थियो ।

इस्लाम क्वाला अफगानिस्तानको एउटा महत्वपूर्ण व्यापारिक नाका हो । यस नाकाबाट इरानसँगको अधिकांश व्यापारिक कारोबार हुने गर्दछ ।

अमेरिकी प्रतिबन्धका बाबजुद इरानबाट तेल र ग्यास आयात गर्न अमेरिकाले अफगानिस्तानलाई छुट दिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खाटीबजादेहले आगलागीको घटना हुँदा इरानतर्फको सीमालाई केही समय खुला गर्नु परेको जानकारी दिए ।

दुवै मुलुकका अग्निनियन्त्रकलाई तत्काल परिचालन गरिएका पनि उनले बताए ।

उनले आगलागीको घटना भएलगत्तै नजिकैको सुरक्षा जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताए ।