विद्युत् प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने दाबी

विद्युत् प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने दाबी



प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार पदबहाली गरेका छन् । १७औँ कार्यकारी निर्देशकका रुपमा शाक्यले रत्नपार्कमा रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ।

गत कात्तिक २६ देखि कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पुर्‍याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने उनले जानकारी दिए ।

विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने शाक्यको भनाइ छ । ‘टेक अर पे’ को शर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्यले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए ।

‘विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ, पुरानो संरचना बदल्न तथा नयाँ शुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ’, शाक्यले भनेका छन् । ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको तर त्यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्नुपर्ने जिकिर गरे ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत् बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनसंरचना विगतमा हासिल भएका उपलब्धिको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको औंल्याए । यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता पनि उनले जनाए ।