ल्होछार मनाउन चिनियाँ कामदार गाउँ जाँदा चीनका दुवै नाका बन्द

ल्होछार मनाउन चिनियाँ कामदार गाउँ जाँदा चीनका दुवै नाका बन्द



भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।

कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको छ ।

चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका रेग्मीको भनाइ छ । बताइएअनुसार बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरि बन्द भएको छ । गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा आएको दुई दिनपछि चिनियाँ कामदार ल्होसार मनाउन जादा गत शुक्रबारबाट उक्त नाका बन्द भएको छ ।

फागुन ५ गतेसम्म नाका बन्द हुन सक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मितेरी पुलको मर्मतपछि दुई दिनमा १४ कन्टेनर नेपाल प्रवेश गरेका थिए ।

प्रत्येक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किंदा नाका बन्द हुने गरेको जानकारी दिँदै उनले ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने बताए ।

ज्ञाातव्य छ, लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।