
हालैका दिनहरुमा र बिशेषगरी गत अगष्ट १० तारिखका दिन एनआरएनए यूकेको कार्यसमितिको बैठक पश्चात एनआरएन यूकेको गरिमामैं आंच आउने गरी सह अध्यक्ष्य श्री महेन्द्र कंडेलबाट व्यक्त गरिएका भनाइहरु तथा संचार माध्यमहरुलाई समेत प्रयोग गरी लेखिएका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएका कारण यो विज्ञप्ति जारी गरिएको छ ।
कार्यसमितिको बैठकमा गरिएका छलफलहरुमा सहमत मात्र नभएर मिटिंगको माइन्युटमा हस्ताक्षर समेत गर्ने तर भोलिपल्ट फरक समाचार प्रकाशित गर्ने सहअध्यक्ष्य कंडेलबाट पटकपटक एनआरएनए युकेको आचार संहिता विपरीतका कामहरु भएका भएतापनि एनआरएनए युकेको गरिमालाई धमिल्याउन नदिन हामीले त्यस्ता समाचारहरुको सार्वजनिक खण्डन नगर्न र एनआरएनए युकेको शाखलाई बचाईराख्ने निर्णय गरेका थियौं । तर हालैका दिनहरुमा एनआरएनए युकेका आइसिसि सल्लाहकार डमर घलेज्यु समेतलाई मुछी एनआरएन युकेका सम्माननीय सल्लाहकारहरुका विरुद्ध झुट आरोपहरु लगाईएको र संचार माध्यममा समेत यस्ता कुराहरु प्रकाशित भएका कारण त्यसैको स्पष्टीकरणका रुपमा यो विज्ञप्ति जारी गरेका छौं ।
सर्वप्रथम त विधानमैं नभएको पद वरिष्ठ उपाध्यक्ष्य भनी उपाध्यक्ष्य सुर्य नेम्बांगलाई सम्बोधन गरिएकोमा एनआरएन युके घोर आपत्ति जनाउंदछ । सहअध्यक्ष्य तथा एनआरएन युकेका पुर्व उपाध्यक्ष्य महेन्द्र कंडेलले समेत सुर्य नेम्बांगलाई वरिष्ठ उपाध्यक्ष्य भनेर सम्बोधन गरी लेख्नु विधान, आचार संहिता विपरीत अत्यन्त दुखलाग्दो कुरा हो । आगामी दिनहरुमा सामाजिक सन्जाल, मिडिया वा कुनैंपनि पत्राचारमा सुर्य नेम्बांगज्युले आफुलाई वरिष्ठ उपाध्यक्ष्य भनी प्रस्तुत नहुन यसै विज्ञप्तिमार्फत सावधान गराउन चाहन्छौं ।
गत १० अगष्टमा भएको कार्यसमितिको बैठकमा उपाध्यक्ष्य सुर्य नेम्बांगले नैं एनआरएन युकेका सल्लाहकार राष्ट्र राईप्रति अभद्र व्यवहार गरेको तर मिडियामा भने उल्टो समाचार छाप्दै सहअध्यक्ष्य महेन्द्र कंडेलले विज्ञप्ति समेत जारी गर्नु भएकोमा हामी आश्चर्य चकित भएका छौं । यस्तो झुठ र भ्रामक कुराहरु एक जिम्मेवार पदमा रहेका व्यक्तिबाट आगामी दिनहरुमा बाहिर नआओस् भन्ने हामी चाहन्छौं । यसैगरी सल्लाहकार राष्ट्र राई तथा उहांको परिवार विरुद्ध काल्पनिक नामबाट अभद्र भाषाहरु प्रयोग गरी इमेलहरु प्राप्त भएका छन् तर त्यस्ता इमलेहरुमा विश्वास नगर्न हामी सम्पुर्ण नेपाली समुदाय तथा मिडियाहरुसंग आग्रह गर्दछौं । सो बैठकमा अध्यक्ष्य योगेन क्षेत्रीले आफ्ना कुराहरु जबर्जस्ती लाद्न खोजेको समाचार सत्य होइन । बरु गत सेप्टेम्बर २९ तारिखमा नेपाली दुतावासमा भएको सम्झौता बमोजिम एनआरएन युकेका साधारण सदस्यहरुबाट महेन्द्र कंडेलले उठाउनु भएको भनिएको साधारण सदस्यहरुको शुल्क बीस हजार पाउण्डमात्र तिरिएको र बांकी ३३ हजार पाउण्ड तथा कंडेलको उम्मेदवारी शुल्क समेत कहिले तिरिने हो भन्ने प्रश्न कंडेललाई गरेपछि सो बिषयलाई टार्न महेन्द्र कंडेल तथा उहांका पक्षधर भनिएका व्यक्तिहरुबाट बैठकमा होहल्ला गर्ने तथा सल्लाहकारहरुलाई अभद्र भाषा प्रयोग गर्न थालिएको हो । यसर्थ झुठ र भ्रामक समाचारलाई विश्वास नगर्न हामी बेलायतबासी सम्पुर्ण नेपाली जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं । यसैगरी एनआरएन युकेका साधारण सदस्यहरुबाट उठेको सो रकम कसैको व्यक्तिगत सम्पति नभई एनआरएन युकेको भएको हुंदा सो रकम तुरुन्त एनआरएन युकेको खातामा जम्मा गर्न हामी आग्रह गर्दछौं ।
हालै जारी विज्ञप्तिमा सहअध्यक्ष्य महेन्द्र कंडेलले कंडेल पक्षको भेला यथावत’ भनी अगष्ट १७ तारिखमा बोलाईएको काउन्सिल बैठक स्थगित भएको तर भेला यथावत भनी कार्यसमितिमा कहिल्यै पनि निर्णय नभएका, व्यक्तिगत निर्णयहरु संचार माध्यममा प्रकाशित गराई जनमानसमा भ्रम पैदा गर्न खोज्नुभएको छ । सर्वप्रथम त एनआरएन युके कुनैं राजनीतिक पार्टी नभएका कारण यसमा पक्ष र विपक्ष भन्ने कुरा नैं उठ्दैन । येा विशुद्ध सामाजिक संस्था हो । अर्केा कुरा महेन्द्र कंडेललाई काउन्सिल बैठक सम्पन्न गर्न ६ महिना भन्दा अघि नैं एनआरएन युकेले संयोजक तोकेकोमा निर्धारित समयसम्म कुनैं काम नगरी बैठकको निर्णय विपरीत मनगणन्ते हिसाबले आफैं काउन्सिलको बैठक १७ तारिखमा भनी घोषणा गर्ने अधिकार उहांलाई कसले दियो, हामी प्रश्न गर्न चाहन्छौं । पटक पटक विधि र विधान विपरीत आफैं काम गर्ने र आक्षेपहरु अरुलाई लगाउने कंडेलले आचार संहिता विपरीत एनआरएन युकेको पदको दुरुपयोग नगर्न आफ्नो पक्षका भनिएका व्यक्तिहरुलाई समेत संयमित हुन र उनीहरुको जिम्मेवारी लिन हामी आग्रह गर्दछौं ।
अन्त्यमा झुठ र भ्रामक समाचारहरुलाई स्थान नदिन संचार माध्यमहरुसंग पनि आग्रह गर्दछौं र एनआरएन युकेको छविलाई जोगाइराख्न भरमग्दुर प्रयास गरिरहने विश्वास दिलाउन चाहन्छौं।
भवदीय
योगेन्द्र बहादुर क्षेत्रीप्रेस विज्ञप्ति
१५ अगष्ट २०१४
प्रतिक्रिया