कुनै समय प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गर्न रहस्यमयी किसिमबाट सक्रिय तुल्याइएका बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओली र उनको कदमप्रति ज्यादा आक्रामक हुनुको कारण अहिले पत्ता लागेको छ ।
हाल बहुराष्ट्रिय राज्यको अवधारणालाई मूर्तरूप दिन क्षेत्रियतावादी दलमा खटाइएका भट्टराईले आफू प्रधानमन्त्री पदबाट मुक्त भएको केही समयपछि कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको भन्दै ‘नयाँशक्ति’ नामको दल खोलेका थिए । तर २०७४ को मङ्सिरमा संसदीय निर्वाचन हुनुअघि तत्कालिक एमाले र माओवादीबीच पार्टी एकिकरण गर्ने निर्णयसहित चुनावी गठबन्धन हुने भएपछि भट्टराई दौडिएर राष्ट्रिय सभागृह पुगे र त्यहाँ आयोजित भब्य समारोहलाई सम्बोधन गर्दै आफूले धेरै पहिलेदेखि नै एउटै कम्युनिष्ट पार्टीको सपना देखेको र आज त्यो ऐतिहासिक दिन आएकोले सबैभन्दा प्रशन्नता मिलेको उद्घोष गरेका थिए । यसरी त्यसदिन बाबुरामले आफू सच्चा कम्युनिष्ट भएको सन्देश दिएर सबै कम्युनिष्टहरूको मन जित्ने प्रयास गरेका थिए । तर जब बाबुरामलाई कुनै पदीय जिम्मेवारीमा ‘एडजस्ट’ गर्ने र टिकट दिने कुरा आयो त्यसपछि समस्या पैदा भयो ।
गोर्खाको दुई नम्बर क्षेत्रबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिने तयारी गरिसकेकाले त्यहाँ बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने वचन दिन सक्ने अवस्थामा प्रचण्ड थिएनन् । पार्टीको उच्च तहमा ‘एडजस्ट’ गर्न पनि माओवादी कित्ताका कुनै पनि नेता तयार भएनन् । त्यसपछि प्रचण्डले केपी ओलीको सहयोग माग्दै भनेका थिए– ‘हाम्रोतिरका साथीहरू बाबुरामप्रति पटक्कै सकारात्मक हुन सकेनन्, कुनै तरिकाले उहाँलाई ‘एड्जस्ट’ गर्न तपाईंले सहयोग गरिदिनु पऱ्यो ।’
प्रचण्डका कुरा सुनेर केपीले त्यसबेला भनेका थिए– ‘हाम्रा साथीहरू त बाबुरामको नाम पनि सुन्न चाहँदैनन्, त्यसैले यतातिरबाट केही हुने अपेक्षा नराखौँ । माओवादी पृष्ठभूमिका भएकोले कुनै उपाय निकालेर तपाईं नै मिलाउनुहोस् ।’
केपीको यस्तो जवाफ आएपछि प्रचण्ड आफ्नो कित्तामा बाबुरामलाई ‘एडजस्ट’ गर्नतिर लागेनन् । बरु सुनाइदिए– ‘बाबुरामजी, केपी ओली तपाईंप्रति पूर्वाग्रही रहेछन्, तपाईंलाइ टिकट दिन र पार्टीको कुनै पदीय जिम्मेवारी दिन सहमत भएनन्, के गर्ने ?’
प्रचण्डबाट यस्तो जानकारी पाएपछि बाबुरामलाई कम्युनिष्ट आन्दोलनप्रति पुनः असन्तुष्टि पैदा भयो, केपी ओली सच्चा कम्युनिष्ट नभएको भन्दै प्रचण्डबाट छुटे र काङ्ग्रेसबिना समृद्धि सम्भव नभएको सार्वजनिक वक्तव्य दिँदै उनी शेरबहादुर देउवाको शरणमा पुगे । देउवाले गोर्खा–२ मा काङ्ग्रेसले तपाईंलाई नै मतदान गर्छ भन्ने विश्वास दिलाएपछि बाबुराम शान्त भइ नारायणकाजी श्रेष्ठसँग प्रतिष्पर्धा गर्न गोर्खातर्फ लागेका थिए । तर केपीका कारण आफू एकिकृत कम्युनिष्ट पार्टीको नेता बन्नबाट वञ्चित हुनुपरेको कुरालाई बाबुरामले कहिल्यै बिर्सन सकेनन् । त्यसैले ठाउँ पाउनेबित्तिकै बाबुराम केपीका विरुद्ध अखिलका केटाझैँ आक्रामक रूपमा प्रस्तुत हुने गर्दै आएका छन् ।
प्रतिक्रिया