नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मध्यावधि निर्वाचनमा सहभागिता जनाउने सङ्केत दिनुभएपछि काङ्ग्रेसभित्रकै विद्रोही पक्षमा छटपटी बढेको पाइएको छ । केपीको कदमविरुद्ध सङ्घर्ष गर्ने र कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापना गरेरै छोड्ने अठोटका साथ मैदानमा उत्रिएका काङ्ग्रेसभित्रका केही विद्रोही नेताहरू सभापति देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधिप्रति सशङ्कित हुन पुगेका छन् र, त्यसले उनीहरूको बेचैनी बढाएको छ । ज्ञातव्य छ, काङ्ग्रेसका गगन थापा, रामचन्द्र पौडेल र डा. शेखर कोइरालालगायतले एउटा बेग्लै सपना देखेका थिए ।
आगामी जेठदेखि भाद्र महिनासम्ममा काङ्ग्रेसको चौधौँ महाधिवेशन सम्पन्न गर्ने र, उक्त महाधिवेशनमा देउवालाई परास्त गरी आफूहरू पार्टीको सत्तापक्ष बन्ने, त्यसपछि हुने संसदीय निर्वाचनमा आफूहरूले चाहेबमोजिम उम्मेदवार चयन गर्ने र बहुमत प्राप्त गरी देशको समेत सत्तापक्ष बन्ने उनीहरूको सपना थियो । केपीको एउटै निर्णयले कोइराला पक्षको सम्पूर्ण सपना चकनाचुर पारिदियो ।
चौधौँ महाधिवेशनभन्दा पहिले नै संसदीय निर्वाचन भएमा उम्मेदवार चयनमा देउवा हाबी हुने, निर्वाचनमा पार्टी विजयी भएमा संसदीय दलको नेता तथा प्रधानमन्त्री पनि देउवा नै बन्न सक्ने र, त्यसपछि हुने चौधौँ महाधिवेशनले समेत देउवालाई नै पुनः सभापति चयन गर्न सक्ने अवस्था उत्पन्न भएपछि गगन थापा, शेखर कोइराला र रामचन्द्र पौडेललगायतका काङ्ग्रेस नेताहरू प्रचण्डहरू भन्दा बढी आतङ्कित र आक्रोशित हुन पुगेका हुन् ।
अब अर्को पाँच वर्ष पनि देउवा नै सत्तापक्ष बनेमा पन्ध्रौँ महाधिवेशनसम्ममा रामचन्द्र पौडेल चौरासी पूजा गर्ने उमेरमा पुग्ने, सत्तरी वर्षका शेखर पचहत्तर पुगेर राजनीतिबाट सन्यास लिने अवस्था पैदा हुने र, पचास वर्षभन्दा माथिका मानिसले राजनीतिबाट विश्राम लिनुपर्छ भन्दै राजनीतिक क्रियाशिलता बढाएका गगन झण्डै पचपन्न वर्षको हुने स्थिति छ । त्यसैले काङ्ग्रेसभित्रका प्रतिपक्षीहरूले केपीका कारण आफ्नो सम्पूर्ण सपना भताभुङ्ग भएको ठानेका छन् ।
यो पक्ष पनि चुनावमा सहभागी नभएर बहिष्कारकै पक्षमा उभिन पुग्यो भने कुनै आश्चर्य हुने छैन । कदाचित निर्वाचनमा सहभागी बन्ने भएछन् भने पनि उनीहरूले उम्मेदवार चयनमा देउवासँग धेरै ठूलो बार्गेनिङ गर्ने निश्चित छ । काङ्ग्रेस विजयी बन्ने सम्भावना देखिएका सबैजसो निर्वाचन क्षेत्रमा आफ्नो मानिसलाई उम्मेदवार बनाउन देउवामाथि उनीहरूले दबाब पैदा गर्नेछन्, जुन दबाबलाई झेलेर अघि बढ्नुपर्ने अवस्थामा देउवा छन् । टिकट वितरणमा उत्पन्न हुन सक्ने तनाव र द्वन्द्वले काङ्ग्रेसभित्र बिग्रह पैदा गर्ने र, त्यसले चुनाव परिणाममा ठूलो असर पार्ने सम्भावना छ ।
कम्युनिष्ट पार्टी विभाजित भएर चुनावमा जाँदैछ, काङ्ग्रेसचाहिँ चुनावी मैदानमा गएर विभाजित हुने पृष्ठभूमि अहिले बनिरहेको छ । त्यसर्थ कदाचित्त निर्वाचन भएमा परिणाम कस्तो प्रकारको आउने हो अनुमान गर्न नसकिने भएको छ । चुनावी वातावरण बन्दै गरेका बेला काङ्ग्रेस महाधिवेशनको विषयलाई लिएर विवादको भुमरी पैदा गराउने स्थितिमा पुगेको छ ।
प्रतिक्रिया