‘कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन’

‘कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन’



तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन आग्रह गरेका छन् । इलामको सदरमुकाम इलाम बजारमा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै नेम्वाङले सबैलाई तयार रहन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको जिकिर गर्दै नेता नेम्वाङले भन, ‘प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।’

‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ’, उनले थपे ।

नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भने, ‘कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए, तर आयोगले आधिकारिकता दिएन ।’ उनको यो संकेत माधव नेपालतर्फ रहेको स्पष्ट बुझिन्थ्यो ।

उनले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने भन्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी गरे । सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसदमा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको नेता नेम्वाङले प्रष्ट्याए ।