मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश, प्रदेशसभाको अर्को बैठक फागुन २० मा

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश, प्रदेशसभाको अर्को बैठक फागुन २० मा



प्रदेश नं १ को प्रदेशसभाको आइतबार सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङवोलाई नेपालको संविधानको धारा १८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९ (४) बमोजिम सदनमा पेश गर्ने अनुमति दिएपछि प्रस्ताव पेश भएको हो ।

अपराह्न २ बजे बोलाइएको बैठक दिनको ३ः५५ बजे शुरु भई करिब ६ मिनेट मात्र सञ्चालन भएको थियो । सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक यही फागुन २० गते १ बजेसम्मका लागि स्थगित गरिएको सदनसमक्ष जानकारी गराए ।

आइतबारको बैठकमा सरकारका प्रतिनिधि एवं सत्तापक्षका सदस्यहरूको उपस्थिति रहेको थिएन ।

यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले निलम्बित सांसद सदनमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नहुने आफूहरूको अडान रहेको बताउँदै संसद्मा देखिएको गतिरोधलाई अन्त्य गरी बैठक सञ्चालनका लागि सभामुखलाई लिखित पत्र दिइएको पत्रकारलाई जानकारी दिएका थिए ।

नेकपा दाहाल–नेपाल समूहका प्रदेश इन्र्चाज एवं प्रदेशसभा सदस्य भीम आचार्यले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म संसद्मा पेश हुन नदिएर सरकारले आफ्ना आयु लम्ब्याएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।