के सरकार ढाल्नु सान्दर्भिक ठहरिएला ?-दिनेश नेपाल

के सरकार ढाल्नु सान्दर्भिक ठहरिएला ?-दिनेश नेपाल


संसारका प्रत्येक राष्ट्रको आ-आफ्नै किसिमका मौलिक राजनीतिक विशेषता रहेको पाइन्छ । यसबाट नै देशको नाम लिनासाथ व्यक्तिको मुखबाट विशेषता बोलिने गरिन्छ । यस्तै नेपालले अङ्गीकार गरेको विशेषतामा सरकार ‘बनाउनु र ढाल्नु’ हो कि जस्तो जनताले महसुस गरिरहेका देखिन्छन् । यसको पुष्ट्याइँमा नेपालमा गठन भएका वि.सं. २००७ देखि हालसम्मका कुनै पनि सरकारले आफ्नो पूर्णकार्यकाल पूरा नगरेको तथ्यलाई लिन सकिन्छ ।
हालको परिस्थितिमा नेपालका सम्पूर्ण राजनीतिक दल एवम् व्यक्तिहरूले २००७ सालदेखि अहिलेसम्म रहेको नकारात्मक राजनीतिक विशेषतालाई त्याग्दै राष्ट्र निर्माणका लागि आवश्यकीय तत्त्व र तथ्यहरूलाई संस्थागत गर्दै राष्ट्रले तय गरेको लक्ष्य हासिल गर्न एकजुट हुनु नै जनइच्छा रहेको देखिन्छ । यसको निमित्त नेपालका राजनीतिक नेताहरूले कम्तीमा एकातिर महात्मा गान्धी र नेहरूजस्ता लोकतान्त्रिक नेताहरूको जस्तो सुझबुझ, दृढता र मेलमिलाप देखाउनुपर्ने देखिन्छ भने अर्कोतिर साम्यवादी नेताहरूले माओत्से तुङ र चाउ-एन लाईको जस्तो ‘टिमवर्क’ गर्ने परिपाटी, लगनशीलता र मित्रता अवलम्बन गर्नुपर्ने स्थिति टड्कारो देखिन्छ ।
अहिले नेपालीको एक मात्र इच्छा देशका राजनीतिकर्मीहरूद्वारा राष्ट्रमा वास्तविक शान्ति कायम गर्दै जनप्रिय संविधान निर्माण गरिनु नै हो । जनता विस्तारै राजनीतिक दलहरू र नेताहरूसँग विरक्तिँदै फेरि नौलो परिवेशको खोजीमा लागिरहेको परिस्थिति जनमानसको अभिव्यक्तिबाट देखिन थालेको छ ।
यस स्थितिलाई देशका नेतृत्वदायी भूमिकामा रहेका नेताहरूले गम्भीरताका साथ चिन्तन गर्दै जनप्रिय क्रियाकलापहरूमा आफूहरूलाई खरो उतार्नुपर्ने देखिन्छ । तर, नेपालको वास्तविकता एवम् परिस्थिति र नेपालीको भावनादेखि पर गएर राजनीतिक दल र नेताहरू आपसमा किचलो सिर्जना गर्दै मङ्सिर १४ गते संविधानसभाको म्याद थप्ने विकल्पको तयारीमा लागिरहेको जनताले अनुभव गरेका छन् ।
हालको स्थिति विगतको भन्दा केही पृथक् छ । किनभने, अहिले सरकार ढाली अर्को सरकार निर्माण गर्ने क्रममा सैद्धान्तिक र व्यावहारिक धार मिलेकाहरू नै लागिरहेका छन् । उदाहरणस्वरूप सैद्धान्तिक रूपले विपरीत धु्रवमा रहेको दल नेपाली काङ्गे्रसले चाहिँ डा. बाबुराम नेतृत्वको सरकारलाई यथावत् राख्दै राष्ट्रिय लक्ष्य प्राप्त गर्नुपर्छ भनिरहेको छ भने प्रधानमन्त्रीको आफ्नै दलका वैद्य ?किरण) पक्षधर नेता र नेकपा एमालेका अध्यक्ष झलनाथ पक्षधरहरूचाहिँ बाबुराम-सरकार ढाल्न हात धोएर लाग्नुलाई लिन सकिन्छ ।
सरकारको विरुद्ध या विपरीत दिशामा वैद्य (किरण)हरू लाग्नु त केही हदसम्म स्वाभाविक नै देखिन्छ, किनभने उनले अवलम्बन गरेका राजनीतिक मार्ग दलभित्र नै सधैं डा. बाबुरामको भन्दा भिन्न रहेको छ । तर, एमाले र यसका अध्यक्षले अपनाएको रवैया केवल आफूले कार्य सम्पादन गर्न नपाउँदाको प्रतिशोध हो भन्नुमा अत्योक्ति नहोला ।
नेकपा एमालेले आफ्नो पार्टीनाममा झुन्ड्याएको मार्क्स र लेनिनको जस्तो चरित्र कहिले पनि नदेखाएबाट त जनतालाई यस्तो लाग्न थालेको छ कि कतै नेकपा एमाले नेपाली ‘स्टाइल’को इष्र्यालु र खुट्टा तान्ने प्रवृत्तिका कार्लमार्क्स र लेनिन जन्माउन त तल्लीन छैन ? तर, एमालेका कमरेडहरू ! जनता हरदम चाहन्छन् कि तपार्इंहरूको कार्यशैली र जीवनशैलीले मार्क्स, एङ्गेल्स र लेनिनको कार्यशैली र जीवनशैलीलाई पनि छिचोलोस् । त्यसैले अहिले ‘एमाले’का लागि सरकार ढाल्ने कार्यभन्दा राष्ट्रिय लक्ष्य प्राप्त गर्ने कार्यतर्फउन्मुख र लगनशील भई नेपालीलाई विषम परिस्थिति र सङ्क्रमणकालबाट उन्मुक्ति दिँदै जनतामाझ आफ्नो खसेको ‘साख’ उठाउनु नै बुद्धिमत्ता ठहरिन्छ ।
नेकपा माओवादीका सम्पूर्ण राजनीतिक नेता र राजनीतिकर्मीहरूले आफ्नो स्थिति जनतामा कुन अवस्थामा रहेको छ भन्ने मूल्याङ्कन गर्दै आपसी कलहलाई निप्ट्याउँदै माओ त्से तुङ र चाउएनलाईको जस्तो ‘टिमवर्क’को नमुना प्रस्तुत गरी आफ्नो दललाई राष्ट्र निर्माणमा लगाउनु नै जनभावनाअनुरूप हुन्छ । यसको निमित्त माओवादीका नेतृत्व वर्गले आफूलाई ‘खेमा’मा विभाजित नगरी मार्क्स, माओ त्से तुङ र चाउएनको जस्ता राजनीतिक चरित्र देखाउनुपर्ने हुन्छ ।
अहिले सरकार सञ्चालन गरिरहेका डा. बाबुराममा पनि नेपाली रोग नातावाद र कृपावाद बिस्तारै प्रवेश गर्न लागेको तथ्य हाल आएर उनले गरेका विविध क्रियाकलापहरूबाट देखापर्न थालेजस्तो छ । डा. बाबुराम भट्टराई साँच्चै नै देशमा शान्ति स्थापना गरी जनमुखी संविधान दिन दृढ छन् भने उनबाट स्वेच्छा र दबाबद्वारा गरिने नकारात्मक गतिविधिलाई सधैंका लागि तिलाञ्जली दिनुपर्ने देखिन्छ ।
समयान्तरमा आफूले गरेका क्रियाकलापहरूद्वारा सरकार अक्षम हुन पुग्यो र राष्ट्र बिचल्लीको स्थितिमा पुग्यो भने अरूले गर्न दिएनन् भन्नु पूर्णतया मर्ूखता र प्रलाप मात्र हुनेछ भन्ने वास्तविकतालाई बेलैमा डा. बाबुरामले आत्मसात् गर्नुपर्ने देखिन्छ । यसैगरी, माओवादीका वरिष्ठ नेता किरणले पनि कि त आफ्नो नेतृत्वमा दललाई राखेर सरकार सञ्चालन गरी राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्‍यो नत्रभने आफ्नै साथीहरूको नेतृत्वमा गठन भएको सरकार ढाली अन्य दलका नेताको नेतृत्वमा सरकार गठन गर्न अग्रसर हुनुचाहिँ मात्र ‘स्याडिस्टिक प्लेजर’ लिनु बराबर हुनेछ ।
यतिखेरको वास्तविक जनचाहना, विश्व परिस्थिति र राष्ट्रिय अवस्थालाई गहिरो अध्ययन गर्दै त्यसमुताबिकका गतिविधि र क्रियाकलापहरू सम्पन्न गर्नु नै नेपालका सम्पूर्ण राजनीतिक नेताहरू र राजनीतिकर्मीहरूको दायित्व हुन्छ भन्ने भावना जनताबाट प्रस्फुटन भएबाट अहिलेको परिस्थितिमा सरकार ढाल्नुभन्दा सबै मिलेर जनप्रिय संविधान दिँदै देशलाई समृद्धशाली बनाउने अभियानमा लाग्नु नै जनहित र राष्ट्रहितमा हुन्छ । यस परिप्रेक्ष्यमा वर्तमान सरकार ढालेर नयाँ सरकार निर्माण गर्नु कति सान्दर्भिक ठहरिएला त ?
[email protected]