‘यी’ तीनलाई हरदम प्रधानमन्त्री पदकै चिन्ता !

‘यी’ तीनलाई हरदम प्रधानमन्त्री पदकै चिन्ता !



‘घरज्वाइँलाई खानाकै धन्दा’ भन्ने उक्तिको चरितार्थ नेपाली राजनीतिमा फेरि एक पटक हुन पुगेको छ । मुलुकले राजनीतिक सङ्कट ब्यहोरिरहेको र, यसले देशको आर्थिक-सामाजिक जीवनमा समेत गम्भीर असर परिरहेका बेला केही नेताहरू भने केवल प्रधानमन्त्री बन्ने ताकमा रहेको पाइएको छ ।

संसद् पुनर्स्थापना भएको र नभएको दुवै अवस्थामा प्रधानमन्त्री कसरी बन्ने भन्ने चक्करमा मूलतः तीन जना रहेका थिए । काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र मधेशकेन्द्रित समूहका नेता बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने तीव्र चाहनाका साथ क्रियाशील र प्रतीक्षारत छन् ।

उल्लिखित तीनमध्ये शेरबहादुर देउवा सबैभन्दा ज्यादा आशावादी देखिएका छन् । प्रतिनिधिसभा पुनःस्थापना भएको यस अवस्थामा विभाजित नेकपाको एउटा घटकले अर्कोलाई अस्विकार गर्ने हुँदा दुवै पक्ष र मधेशकेन्द्रित समूहका निम्तिसमेत आफू स्विकार्य हुने विश्वास देउवामा छ । देश निर्वाचनमा गए पनि आफ्नो पार्टीले चुनाव जित्ने र आफ्नै नेतृत्वमा सरकार बन्ने कुरामा देउवा ढुक्क नै थिए । तर प्रचण्डले भने संसद् पुनर्स्थापना भएमा मात्र आफू प्रधानमन्त्री बन्न सक्ने ठानेका थिए र, उनको ठम्याइ गलत पनि देखिँदैन ।

प्रतिनिधिसभा विघटनको सरकारी निर्णय सदर भएको भए प्रचण्ड प्रधानमन्त्री बन्ने मार्गमा अवरोध पैदा हुने मात्र नभइ उनको मार्गचित्र र राजनीतिक भविष्यमा ठूलो सङ्कट पैदा गराउने निश्चित थियो । प्रचण्डले संसद् पुनर्स्थापना भए पनि आफू प्रधानमन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति त दिएका छन्, तर उनको भनाइ र गराइमा रहँदै आएको असमानताले अभिव्यक्तिमा विश्वास गर्नुपर्ने देखाउँदैन ।

२०६३ सालमा खुला राजनीतिमा आउँदै गर्दा पनि प्रचण्ड र बाबुरामले आफूहरू कार्यकारी भूमिकामा कहिल्यै नजाने भनी बीबीसी रेडियोबाट नै सार्वजनिक घोषणा गरेका थिए । त्यसयता उनीहरू दुवैजना केवल कार्यकारी पदप्राप्तिकै लडाइँमा केन्द्रीत र सीमित रहँदै आएका छन् । प्रचण्ड झैँ बाबुराम भट्टराई पनि यतिबेला प्रधानमन्त्री बनिहाल्ने मानसिकताका साथ क्रियाशील भइरहेका छन् ।

भट्टराईलाई विभिन्न अदृष्य शक्तिकेन्द्रहरूबाट प्रधानमन्त्री बनाइने आश्वासन प्राप्त भएकोले उनको सक्रियता बढेको हो । भरपर्दा आश्वासन प्राप्त भएपछि बाबुराम स्वस्थ र ‘बलियो’ भइ प्रधानमन्त्री चलाउनका निम्ति स्वास्थोपचार गर्न दिल्ली पुगेका छन् । ‘उपचार’मा जानुअघि बाबुरामको ‘टोन’ केही बदलिएको र सबैथरिको सहानुभूति प्राप्त गर्ने प्रकारको थियो । अखिलका विद्यार्थीभन्दा उत्ताउलो र आङ्काजीभन्दा ज्यादा नेपाल विरोधी अभिव्यक्ति दिने बाबुरामले आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको महशुस गरेपछि व्यवहार बदलेका हुन् । यसरी प्रचण्ड र बाबुराम प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा मात्र प्रधानमन्त्री बन्न सक्ने भएकोले दुवैजनाले संसद् पुनस्र्थापना गराउन सम्भव भएसम्मका दबाब पैदा गरेका थिए । सडक सङ्घर्षदेखि अन्तर्राष्ट्रिय लबिङमा समेत दुवै व्यक्ति ज्यादा सशक्त ढङ्गले लागिपर्नुको मूल कारण यही नै थियो ।

पछिल्लो समयमा प्रचण्ड ‘उत्तर’को सहानुभूति प्राप्त गर्न सफल देखिएका छन् र, संसद् पुनस्र्थापित हुँदा प्रधानमन्त्री बनाइने आश्वासन पनि उनैलाई प्राप्त भएको बुझिन्छ । माधवकुमार नेपालभन्दा पनि प्रचण्ड ‘उत्तर’को रोजाइमा पर्नु आफैंमा रोचक ठानिन्छ । बाबुराम भने पश्चिमा र दक्षिणको साथ लिएर प्रधानमन्त्री बन्ने अन्तिम कसरतमा छन् । उनका सम्पूर्ण प्रयास संसद् पुनर्स्थापना निम्ति केन्द्रित रहँदै आएका थिए ।

पुनर्स्थापना भएको अवस्था भएकोले अब प्रचण्ड र बाबुरामको बाटो छेक्न सक्ने माधव नेपाल मात्र हुन् भन्ने ठानिएको छ । नेकपाको विभाजन सांसद सङ्ख्याका दृष्टिले बराबरी जस्तै हुने र, केपी पद त्याग गर्न बाध्य हुनुपर्ने अवस्थामा मात्र देउवाको सम्भावना बढ्ने देखिन्छ । देशको भविष्यभन्दा आफ्ना निम्ति चिन्तित उल्लिखित व्यक्तिहरूको मनोदशा देखेर आममानिस भने आश्चर्यचकित परेका छन् ।