आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न प्रचण्ड पक्षको निर्देशन

आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न प्रचण्ड पक्षको निर्देशन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुन सक्ने जानकारी गराएका हुन् ।

उपलब्ध सांसदहरुको बैठकमा प्र्रचण्ड र नेपालले जतिबेला जे पनि हुन सक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर निर्देशन दिएको बताइएको छ ।

बैठकमा उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवाद दिएका थिए ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो । सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

pict:rss