दक्षिणकालीस्थित चम्पादेवी माविको भवन निर्माणका लागि ६ करोड ८५ लाख सहयोग

दक्षिणकालीस्थित चम्पादेवी माविको भवन निर्माणका लागि ६ करोड ८५ लाख सहयोग



दक्षिणकाली नगरपालिकास्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य शुरु भएको छ । मित्रराष्ट्र भारतद्वारा सहयोग प्रदान गरिएको ६ करोड ८५ लाखको लगानीमा विद्यालय भवन निर्माण हुन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार र दक्षिणकाली नगरपालिकाका मेयरले बुधबार पूनर्निमाण कार्यको संयुक्त रूपमा भूमिपूजन तथा शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् स्थानीय समुदाय सदस्यहरुको उपस्थिति थियो ।

बताइएअनुसार शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६औँ विद्यालय हो । नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरूको पुनर्निर्माण निम्ति भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ ।

पुनर्निर्माण हुन लागेको चम्पादेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने बताइएको छ । नवनिर्मित संरचनामा दुइवटा ब्लक रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् ।

यी विद्यालयहरूको निर्माणका लागि भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने जानकारी दिइएको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान ( सीबीआरआई) भूकम्पप्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

ज्ञातव्य छ, २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुऱ्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।