काङ्गे्रसमा व्यक्तिका लागि लडाइँ -युवराज बस्ताकोटी

काङ्गे्रसमा व्यक्तिका लागि लडाइँ -युवराज बस्ताकोटी


भौतिक व्यवस्थापनले मात्र दलीय नेतृत्वले सुख पाउने स्थिति हुँदैन, त्यसभित्रको आत्माको सशक्त व्यवस्थापन आवश्यक पर्छ । दलको आदर्श, निष्ठा, सिद्धान्त, सङ्गठन र यिनका आधारबारे अनभिज्ञता प्रस्तुत गरेर व्यक्तिका लागि जुँगाको लडाइँ लडिदिँदा पार्टीको आन्तरिक स्वास्थ्य खराब हुँदै जान्छ । अर्थमन्त्री, शान्तिमन्त्री, प्रधानमन्त्री को हुने भन्ने विषयबाट सुरु भएको एनेकपा माओवादीको आन्तरिक द्वन्द्व झन्डै फुटकै स्थितिबाट गुज्रिएको छ । त्यसैगरी समानान्तर शक्ति सञ्चालनको अभ्यास गर्न चाहिरहेको नेपाली काङ्गे्रसको एकपक्ष र सभापतिपक्षीय नेताहरूबीच देखिएको छताछुल्ल विवाद नेपाली काङ्गे्रसका सोझा योद्धाहरू मात्रको चिन्ताको विषय नभएर आमलोकतन्त्रवादी व्यक्तिहरूका लागि ठूलो विडम्बनाको विषय भएको छ । महाधिवेशनपश्चात् आफूले हारिसकेको अवस्थामा जित्ने सभापतिलाई असहयोग गर्ने नाममा केन्द्रीय समिति बहिष्कारजस्तो गैरप्रजातान्त्रिक, अराजनीतिक क्रियाकलाप गरिदिँदा नेपाली काङ्गे्रसका प्रजातन्त्र र पार्टीका लागि निरन्तर योगदान दिँदै आएका बलिदानी कार्यकर्ताको मुटु दुखेको छ । नेतृत्वलाई बौद्धिक, राजनीतिक र वैचारिक चुनौती दिन शेरबहादुरजीले कुशलता प्रस्तुत गर्ने या सभापतिलाई सशक्त बन्न बाध्य पार्न सक्नुभएको छैन । उहाँले सभापतिलाई सिर्जनात्मक बौद्धिक चुनौतीपूर्ण सहयोग गर्नुपर्छ, तर दुर्भाग्य उ उहाँले काम गर्न बाधकको रूपमा मात्र कार्य गरिरहनुभएको छ । काममा अप्ठ्यारो पारेर नेताको रूपमा स्थापित हुन कसरी सकिएला र ?
एक बौद्धिक व्यक्तित्वले भन्नुभएको थियो, ‘गरिब लोकतन्त्रवादीलाई देशको माया सबभन्दा बढी हुन्छ, त्यसैगरी निरीह सीधासाधा कार्यकर्तामा पार्टीको सबभन्दा बढी माया हुन्छ ।’ नेपाली काङ्गे्रसका समाजवादी, देशभक्त, लोकतान्त्रिक छवि भएका नेता तथा कार्यकर्तालाई पार्टीको ठूलो प्रेम छ, पार्टीलाई दुर्गतितिर धकेल्न उनीहरूको कुनै भूमिका पनि छैन । नेपाली काङ्गे्रसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूका व्यवहार र विचारलाई हेर्ने हो भने प्रस्ट हुन सकिन्छ कि यिनीहरू आफ्ना लागि राजनीति गरिरहेका छन् ।
सभापति सुशील कोइराला तथा नेता शेरबहादुर देउवा दुवैलाई पानीबाराबारको स्थितिमा पुर्‍याइदिएर आफू नेतृत्वमा स्थापित हुने चालबाजी त्यसपछिका नेताहरूले गरिरहेको प्रस्ट छ । शेरबहादुर देउवालाई भए-नभएका कुरा लगाएर सुशील कोइरालालाई असहयोग तथा भाँजो हाल्ने वातावरण बनाउने र कोइरालालाई उचालेर उहाँको शालीन राजनीतिक छविलाई धमिल्याइदिने खेलमा केही व्यक्ति तथा नेताहरू लागिपरेका छन् ।
कतिपय युवा नेता तथा वृद्ध नेता नै पनि कुनै अमूक व्यापारीको कक्टेल डिनरमा जम्मा भएर सुशील कोइराला तथा शेरबहादुर देउवाको उछित्तो काढ्ने, फेरि भोलिपल्ट बिहानै यस्तो र उस्तो भन्दै त्यही नेताको चाकडी गरेर अराजनीतिक कार्य गर्न उक्साउने चरित्र प्रदर्शन गरिरहेका छन् । त्यतातिर यी दुई सर्वोच्च नेतृत्वले आफैं ध्यान दिनु आवश्यक छ ।
के पार्टी फुटाउनै लागेका हुन् त देउवाले ?! यो आर्श्चर्यमिश्रति प्रश्न उठिरहेका छन् एकातिर भने अर्कोतर्फके देउवालाई केही नदिन लागेका हुन् त सभापतिज्यूले ? दोस्रो प्रश्न उठिरहेको छ र्सवत्र । भ्रातृ सङ्गठनहरू पुनर्गठन नहुँदा काम नपाएर कार्यकर्ताहरू अलमलमा परेका छन् । विभागहरू बन्न पाए तिनीहरूले आ-आफ्नो काम गर्न बाटो खुल्ने थियो । यी दुई नेताले यी ८५ जना केन्द्रीय सदस्यको कुरा सुन्ने होइन ४० लाख मतदाता, तीन लाख क्रियाशील सदस्य तथा २.६ करोड जनता र सिङ्गो देशको अनुहार सम्झेर निर्णय रू लिनुपर्ने हो, न कि प्रकाशमान सिंह, बलबहादुर केसी वा विमलेन्द्र निधि वा गोपालमान श्रेष्ठको अनुहार वा पोजिसन हेरेर ।
कोइराला र देउवाहरूको साख गिर्‍यो भने राजनीतिक भिडन्तमा गणेशमानपुत्र प्रकाशमान, महेन्द्रनारायणपुत्र विमलेन्द्र, बीपीपुत्र शशांक वा गिरिजाप्रसादपुत्री सुजाता त नेतृत्वमा आउलान् तर चाउरे साइँला, काइँला हजुरबा, रमेश सार्की वा दीपेन्द्र श्रेेष्ठले कहिले ? तिनले कसरी महसुस गर्लान् त स्वतन्त्रता र सम्पन्नताको ? देश बनाउने वाचा गरेर बिपीको पछाडि लागेका सुशील र शेरबहादुरले नेपाली काङ्गे्रस ठेक्कामा लिनुभएको हो र ? कि हालका ८५ जना केन्द्रीय सदस्यहरूको सेयर रहेको प्राइभेट लिमिटेड कम्पनी हो नेपाली काङ्गे्रस ? एउटा अचम्मलाग्दो कुरा छ कि प्रजातन्त्रको दुहाइ दिने यो सबभन्दा पुरानो इतिहास बोकेको देशको एक मात्र शक्तिशाली पार्टीमा नुन खाएको कुखुराजस्तो बनिरहेको छ । के अनौठो भइरहेको छ, व्यक्तिका लागि यत्रो ठूलो द्वन्द्व ?
अर्को निरीहताको कुरा के छ भने नवयुवा केन्द्रीय सदस्यबाट आश गर्न सकिने तर भर पर्न नहुने भयो । बौद्धिक भनेर चिनिने एकजना केन्द्रीय सदस्य दाजुको छोटो कथा लेखौँ । ती दाजुलाई कुनै जिल्लामा क्षेत्रीय कार्यकर्ता भेलामा बोलाइयो । काठमाडौंमा निरन्तर रेस्टुरेन्टमा कक्टेल डिनर गराउने एक कार्यकर्ताको सहयोग र गाडीमा उहाँ त्यस दूरदराजमा पुग्नुभयो, असाध्यै राम्रो भयो । प्रमुख अतिथिको सम्बोधन गर्दै तिनै डोनर कार्यकर्ताको प्रशंसामा भाषण टुङ्गियो । लौ उ केन्द्रीय सदस्यको विजोग, एउटा कार्यकर्ताको चाकडीमा सबै समय स्वाहा उ पार्टीको विचार, आदर्श, इतिहास, दलको वर्तमान गतिविधि, रणनीति, कार्यनीति बताएर ग्रामीण कार्यकर्ताको मनोबल उच्च बनाउलान् भन्ने आशमा रहेका ती स्थानीय त्यतिबेला लज्जित भए जब ती केन्द्रीय सदस्यले एकजना सामान्य कार्यकर्ताको अगाडि आफ्नो निरीहता प्रस्तुत गरे । मलाई थाहा छ- नाम लेखिदिँदा उनीहरूबाटै राजनीतिक खतरा हुन सक्छ पङ्क्तिकारलाई पनि ।
यहाँ व्यक्तिको कुरा ठूलो भएन । ती कार्यकर्तालाई म त मानौँला तर सबैले मान्छन् भन्ने त छैन । त्यति समय पार्टीको बारेमा बोलेको भए राम्रो हुन्थ्यो । भाषणमा त पार्टीको हितमा बोल्न छाडेका हाम्रा नेताले कोठे राजनीतिमा व्यक्तिका लागि नलडेर के गरून् बिचरा ? देउवाले केही पाएनन् भन्ने कुरामा दम छ र ? संसदीय दलमा हारे, सभापतिमा चुनाव लडे, हारे र पनि वरिष्ठ नेता हुनुहुन्छ । कृपया उ पार्टीको ‘वनरसिप’ लिनुहोस् न कि व्यक्तिका लागि, पार्टीलाई दाउमा नराख्नुहोस्, कृपया !