सरकारसँग वार्ता गर्न प्रतिबन्धित नेकपाद्वारा टोली गठन

सरकारसँग वार्ता गर्न प्रतिबन्धित नेकपाद्वारा टोली गठन



सरकारले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्ने तयारी गरिरहेको बेला सरकारसँग वार्ताका लागि प्रतिबन्धित नेकपाले पनि वार्ताटोली गठन गरेको छ।

पार्टीका प्रवक्ता प्रकाण्ड (खड्गबहादुर विश्वकर्मा)को नेतृत्वमा दीपक चलाउनेसमेत संलग्न दुई सदस्यीय वार्ता टोली गठन गरेको सम्बद्ध पक्षले जनाएको छ ।

यसअघि सरकारले विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति गठन गरेको जनाएको थियो । सो समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् ।

सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता हुने सोमबार जानकारी दिएका थिए ।

यसैबीच विभाजित नेकपाको प्रचण्ड समूहले सरकार र विप्लव नेतृत्वको नेकपाबीच सार्थक वार्ताबाट राजनीतिक निकास खोज्न खोजिएको हो भने त्यो स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ ।समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले इमादारीपूर्वक वार्ताको पहल भएको हो भने त्यसको आफूहरुले स्वागत गर्ने बताएका हुन् ।

राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाटै होस् भन्ने पक्षमा आफूहरु रहेको उनको भनाइ छ ।