क्यान्सर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- ‘वी आर कम्फर्टेबल फर नेपाली पिपुल’

क्यान्सर अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- ‘वी आर कम्फर्टेबल फर नेपाली पिपुल’



प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु समेत अवलोकन गर्नुभयो ।

बिर्तामोड निवासी दुर्गा प्रसाईंको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने दाबी गर्नुभयो । अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको तर्क गर्दै उहाँले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्दा हाल्न नजाने प्रष्ट्याउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘म मुद्दा हाल्न गएको पनि छैन । म राजनीति गर्ने मान्छे हो । दरखास्त हाल्न, निवेदन हाल्न तपाईंहरुकोमा आउँछु । अन्याय भयो भनेर आउँछु । मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशीसाथ हट्छु । तर मलाई हटाउन सजिलो छैन । अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव त हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’

प्रचण्डमाथि ब्यंग्य गर्दै प्रधानमन्त्री ओलीले सरकार अरुका लागि कम्फर्टेबल नभइ नेपाली जनताका लागि कम्फर्टेबल हुनुपर्ने अभिव्यक्तिका साथ भन्नुभयो, ‘नेपाली जनतालाई सजिलो हुने, जनतालाई रोजगारी दिने, आवास दिने, खानेपानी दिने, विद्यालय दिने, पाठ्यपुस्तक दिने सरकार चाहियो र, यो सरकार त्यस्तै छ । यो सरकार जनताका लागि कम्फर्टेकल छ । वि आर कम्फर्टेबल फर नेपाली पिपुल ।’