काङ्ग्रेस नेताहरू पनि प्रचण्ड र केपी खेमामा !

काङ्ग्रेस नेताहरू पनि प्रचण्ड र केपी खेमामा !



प्रतिनिधिसभा विघटनपश्चात् गत साता बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको घरमा बसेको काङ्ग्रेस पदाधिकारीहरूको बैठकमा अपेक्षित तर आश्चर्यजनक दृष्य देखियो । काङ्ग्रेसले केपी शर्मा ओली या प्रचण्डमध्ये कोसँग सहकार्य गर्नु उचित हुन सक्छ भन्ने विषयले बैठकमा प्रवेश पाउने बित्तिकै रामचन्द्र पौडेलले भने- ‘हामीले केपीसँग सहकार्य गर्ने कुरा सोच्नु पनि हुँदैन, प्रचण्डसँग नै मिलेर जानुपर्छ ।’

पौडेलका कुरामा कृष्ण सिटौलाले पनि समर्थन जनाए, तर सभापति शेरबहादुर देउवा भने प्रचण्डका विपक्षमा उभिए । उनले झोक्किँदै भने- ‘प्रचण्ड धोखेबाज हुन्, उनले हामीलाई धेरै पटक धोखा दिइसकेका छन् । त्यसैले केपीसँग नै सहमति बनाएर जानुपर्छ ।’

यसरी देउवा केपीसँग गठबन्धन बनाउने कुरा गरेपछि रामचन्द्र निकै चर्किए, दुई पक्षबीच चर्काचर्की पऱ्यो । बैठक काङ्ग्रेसको थियो, तर नेताहरू प्रचण्ड र केपीको खेमामा बाँडिए ।

त्यसपछि नेता अर्जुन नरसिंह केसीलगायतले हस्तक्षेप गर्दै ‘नेकपा विभाजन नभएको अवस्थामा कुनै एक पक्षसँग सहकार्य गर्ने भन्नुको कुनै अर्थ रहन्न, त्यसैले अहिले काङ्ग्रेस तटस्थ रहनुपर्छ’ भने ।

अन्ततः सबै नेताहरू तत्कालका लागि तटस्थ रहन सहमत भएका छन् । तर समय आउनेबित्तिकै काङ्ग्रेसका नेताहरू केपी र प्रचण्ड खेमामा विभाजित हुने निश्चित देखिएको छ ।