कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै



नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक यही फागुन २१ गते शुक्रबार अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

पार्टी सचेतक पुष्पा भुसालका अनुसार बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुनेछ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ ।