१७५ वर्षदेखि लाग्दै आएको मदारबाबा मेला यस वर्ष रोकिने

१७५ वर्षदेखि लाग्दै आएको मदारबाबा मेला यस वर्ष रोकिने



हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रूपमा लाग्दै आएको पुर्वी नवलपरासीको मदारबाबा मेला यस वर्ष कोभिड माहामारीले नलाग्ने भएको छ।

पुर्वी नवलपरासी र पश्चिम नवलपरासीको सिमामा पर्ने विनयी त्रिवेणी ६ मदार डाँडापारी अन्कन्टार विकट स्थानमा लाग्ने मदारबाबा मेला चालु वर्षमा कोरोनाका कारण नलाग्ने पुर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले जानकारी दिनुभयो । विगत १७५ वर्षअघिदेखि लाग्दै आएको सप्ताहव्यापी मेलामा नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन मेला भर्न आउने गरेको विगतको परम्परा रहेको छ।

आस्था र विश्वासका कारण लाग्ने गरेको मदारबाबा मेलामा बढी भिडभाड हुनाले कोभिडको संक्रमण फैलिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यलयले पुर्वी नवलपरासी र पश्चिम नवलपरासीले सार्वजनिक सूचना जारी गरी मेला लगाउन नपाउने जानकारी गराएको हो ।

मदार मेलाको तिथिमिति नजिकन लाग्दा स्थानीय प्रशासन, सुस्ता र विनयी त्रिवेणी गाउँपालिकाले पनि हालको समयमा मेला लाग्दा अझ बढी जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै मेला नलगाउने बारे पनि सबैमा अपिल गर्दै आएको छ। मदारबाबा धार्मिक मेला सुरु गर्नको लागि महलबारी मस्जिदका पिठाधीश मदार स्थानमा पुग्नासाथ मेला लाग्ने परम्परा रहेको थियो । तर यस वर्ष मेलासम्बन्धी गतिविधि गर्न नपाइने सूचनाले सबैमा मेला लाग्ने नलाग्ने बारे प्रश्न चिह्न लाग्न गएको छ ।

आउँदो शुक्रबारदेखि मेला सुरु हुने दिन भएकोले केही पसल र टहरा निर्माण गर्ने तयारीले प्रशासनद्वारा जारी सूचनाको पनि अवज्ञा हुने सङ्केत देखापरेको छ । यसबारे जिल्ला प्रशासन कार्यलयले पसल, टहरा निर्माण गरी मेला गर्ने गतिविधि गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गर्ने प्रशासन श्रोतले बताएको छ।