विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा


शुक्रबार प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन गर्ने


नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र प्रतिबन्धित नेकपाको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले आज संयुक्त विज्ञप्ति जारी गरी दुई पक्षबीच सहमति भएको पत्र सार्वजनिक गर्नुभयो ।

उक्त सहमतिसँगै प्रतिबन्धित नेकपाका सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट प्रतिबन्धित नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।

सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ ।

उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित नेकपाका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि बुधबार वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा चरणबद्धरूपमा संवाद भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रतिबन्धित नेकपाका तर्फबाट विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो । सरकारी तर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने हुनुहुन्थ्यो ।

सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते नेकपाका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।