आफ्नै नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जाने डा. महतको प्रष्टोक्ति

आफ्नै नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जाने डा. महतको प्रष्टोक्ति



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द विप्लव समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् ।

चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो भन्दै डा. महतले सहमतिमा के कुरा छन् भन्नेचाहिँ आफूहरुलाई थाहा नभएको बताए ।

फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे । उनले भने, ‘हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’

सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो ।