बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द



भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।

बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको सिन्ह्वाले जनाएको छ ।

एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ ।

उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।