प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराजले सबै प्रदेश प्रमुखहरूलाई राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्ण कदको तस्बिर उपहारस्वरुप उपलब्ध गराउन थाल्नुभएको छ । झा यतिबेला बडामहाराजाधिराजको तस्बिर लिएर आफै अन्य प्रदेश प्रमुखहरूलाई भेट्न यात्रामा निस्कनुभएको छ ।
उहाँले उपहार-यात्राको थालनी लुम्बिनी प्रदेशबाट गर्नुभएको छ र, फागुन १९ गते लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पृथ्वीनारायण शाहको तस्बिर प्रदान गर्नुभयो ।
उपहार प्राप्त भएलगत्तै यादवले आफ्नो कार्यकक्षमा तस्बिर सजाउनुभएको छ । तस्बिर सजाउन डा. राजेश झा र उहाँको टोलीले सघाएको थियो । उहाँ बुटवलबाट गण्डकी प्रदेश प्रमुखलाई उपहार प्रदान गर्न पोखरातर्फ प्रस्थान गर्नुभएको छ । पोखराबाट उहाँ धनगढी र सुर्खेत पुग्नुहुने, त्यसपछि उहाँले बागमति प्रदेश र एक नम्बर प्रदेश प्रमुखलाई भेट गर्न जानुहुने बुझिएको छ ।
ज्ञातव्य छ, दुई साताअघि प्रदेश प्रमुखका रूपमा कार्यभार सम्हाल्न जनकपुर पुग्नुहुँदा उहाँले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर सजाउनुभएको थियो ।
जनकपुरबाट प्राप्त जानकारीअनुसार राजेश झा बिहान ६ बजे आफ्नो कार्यालय पुग्ने गर्नुहुन्छ र राति एक बजेसम्म कार्यालयमै बसेर काम गर्ने गर्नुभएको छ ।
उहाँले प्रदेश सरकारबाट भएका काम, सरकारले प्रस्तुत गरेका विधेयक तथा अन्य नीति निर्णयहरूबारे विस्तृत अध्ययन गरेर आवश्यक निर्णय लिन त्यसरी अठार घण्टाभन्दा बढी समय खट्ने गरेको बुझिएको छ ।
प्रतिक्रिया