तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’

तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’



राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका अर्थमन्त्रीले पौडेलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने दाबी गरे ।

प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उनको कथन थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन प्रचण्ड समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गरे । उनले भने, ‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनुभएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहरुको प्रयास निरर्थक हुनेछ ।’

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने उल्लेख गर्दै भने, ‘जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन् ।’

file photo