दाङका परियारले बनाए विश्व कीर्तिमान

दाङका परियारले बनाए विश्व कीर्तिमान



यससँगै दाङमा ‘वर्ल्ड रेकर्ड’ राख्नेको संख्या दुई

सनत आचार्य

दाङका ऋषिश्वर परियारले विश्व कीर्तिमान (वर्ल्ड रेकर्ड) कायम गर्न सफल भएका छन् । परियारले Most Jumping Jacks in one Minute विधामा विश्व कीर्तिमान कायम गरेका हुन् । यससँगै दाङबाट विश्व कीर्तिमान राखिएको संख्या दुई पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँ बस्ने २७ वर्षीय परियारले सन् २०२० को जनवरी महिनामा तुलसीपुरको अरनिको मैदानमा एक कार्यक्रम गरी एक मिनेटमा १२३ पटक पिटी जस्तै खेलिने दुवै हात-खुट्टा सँगै चलाउने अभ्यास गरेको भिडियो इमेलमार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को कार्यालयमा पठाएका थिए । उक्त भिडियोको अवलोकन र अनुसन्धानपश्चात गिनिज वर्ल्ड रेकर्डस्को टिमले परियारलाई विश्व कीर्तिमानीको प्रमाण पत्र दिएको हो ।

परियारको नाममा यो रेकर्ड केही दिनअगाडि नै घोषिणा भए पनि त्यसको सूचना मंगलबार मात्रै आफूले पाएको उनले बताएका छन् ।

परियारले सुरुमा दूई हातले टेकेर हिँड्नेमा विश्व रेकर्डका लागि प्रयास गरे तापनि त्यसमा उनी असफल भए ।

त्यसपछि उनले अर्को नयाँ विधामा विश्व रेकर्ड राख्ने सोच बनाए । जसअनुसार उनी कुँद्ने र हातखुट्टा एकसाथ चलाउने (जम्पिङज्याक्स) विधामा विश्व कीर्तिमान राख्न सफल भए ।

परियारले विगत १३–१४ वर्ष पहिलेदेखि नै दुवै हातले टेकेर हिँड्ने प्रयासलाई निरन्तरता दिएका थिए । उनले पछिल्लो समयमा दुवै हातले टेकेर १ घण्टा १० मिनेटको समयमा साढे दुई किलोमिटरको दूरी पार गरेका थिए । यो परियारको नीजि अभ्यास थियो ।

यसअघि दाङकै स्वर्गीय चन्द्रबहादुर डाँगीले संसारका सबैभन्दा होचा व्यक्तिको रूपमा विश्व कीर्तिमान बनाएका थिए ।