सनत आचार्य
महानगरी प्रहरी वृत्त कालिमाटीले अवैध रूपमा क्यासिनोमा खेल्न आउने र खेलाउनेको ठूलो गिरोहलाई बिहीबार पक्राउ गरेको छ ।
मानिसहरूको आवतजावत बाक्लै हुने काठमाडौंको ताहचलस्थित प्लाटिनम होटलको भूइँतल्लामा सञ्चालन गरिएको सिएमजी क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
वृृत्तका प्रमुख डिएसपी अपिल बोहराका अनुसार अवैध रूपमा नियमित क्यासिनो खेलाउने गरेको गोप्य सूचनाको आधारमा बिहीबार लगभग ५ बजेको समयमा उक्त होटलमा छापा मार्दा क्यासिनो खेलिरहेका ६ जना र खेलाउने कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको हो ।
लामो समयदेखि भारत र तराईका विभिन्न स्थानबाट क्यासिनोमा जुवा खेलाउन मानिसहरूलाई काठमाडौंमा ल्याउने र मिनी क्यासिनोको रूपमा अवैध जुवा खेलाउने गरेको बुझिएको डिएसपी बोहराले बताए ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारीका रञ्जित जैसवाल र सोहन प्रसाद, कलकत्ताका शेख मुर्तजा अली, बेतियाका मुमताज मिया बारा जिल्ला, बारागढी ६ का टिन्कुप्रसाद र जनकपुर १३ का राजकुमार सिंह छन् ।
प्रहरीले उक्त क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने कार्यमा संलग्न होटलका प्रबन्धक कामनपा-२२ का महेश मल्ल, सहायक प्रबन्धक सर्लाही ईश्वरपुर-९ का कमलदेव चौधरी, होटल प्रशासनमा काम गर्ने सर्लाही बरहथवा-४ का अजय यादव र क्यासियर सर्लाही बरहथवा-११ का सचिन वाग्लेलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूबाट ८ लाख २६ हजार ९८० रुपैयाँ नगद, ५ लाख ७० हजारका क्यासिनो क्वाइन ३ सय ९० थान, खुल्ला तास १५ बुक, ग्रिन गोल्ड र प्लाटिनम कार्ड ३ थान, ९ लाखको चेक ३ थान, पैसा गिन्ती गर्ने मेसिन एक थान र स्लड मिटर रिडिङ मसिन एक थान बरामद गरेको छ ।
प्रतिक्रिया